गोकुलेश्वर । पछिल्लो समय दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ । अहिले मात्रै जिल्ला अस्पतालबाट सेवा लिनेहरुमध्ये २० जना पुरुष, २० जना महिला तथा २ जना बालबालिका रहेको स्वास्थ्य कार्यलय दार्चुलाले जनाउको छ । प्राप्त जानकारीअनुसार ४२ जना मध्ये एकको एचआइभी एड्सकै कारण गत आर्थिक वर्षमा मृत्यु समेत भएको थियो ।
जिल्लाको महाकाली नगरपालिकामा पाँच महिला तीन पुरुष गरी आठ जना, शैल्यशिखर नगरपालिकामा पाँच महिला चार पुरुष गरी नौजना एचआइभी सङ्क्रमित रहेका छन् ।

मालिकार्जुन गाउँपालिकामा ६ महिला, चार पुरुष, लेक गाउँपालिकामा चार महिला, चार पुरुष र एक नाबालक, मार्मा गाउँपालिकामा तीन पुरुष र एक नाबालक तथा दुहुँ गाउँपालिकामा दुईजना पुरुषमा एचआइभी सङ्क्रमित रहेका छन् । अपि हिमाल गाउँपालिका, नौगाड गाउँपालिका तथा व्यास गाउँपालिकामा एचआइभी सङ्क्रमित फेला परेका छैनन् ।सङ्क्रमितहरूको सङ्ख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क हो ।
भारतसँग सिमाना जोडिएकाले पनि दार्चुलामा एचआइभीको जोखिम झन् बढेको जनाइएको छ ।



