गोकुलेश्वर । राष्ट्रको सातौँ धामका रुपमा रहेको शैल्यशिखर पुजन जात्रा विधिवत् रुपमा सम्पन्न भएको छ । मंगलबार मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ र शैल्यशिखर नगरपालिका वडा नम्वर ६ को सिमा क्षेत्रमा रहेको शैल्यशिखर पुजन जात्रा विधिवत् रुपमा सम्पन्न भएको हो ।

हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन र कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पूजन जात्रा लाग्ने गर्दछ । मालिकार्जुन गाउँपालिका वडा नं ३ स्थित भण्डारी घरबाट विहानै शिखरको यात्रा आरम्भ हुने गर्दछ । शिखर जात्राका लागि दार्चुला, बैतडी, डडेल्धुरा लगायतका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतको उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजन सोमबार साझ नै मालिकार्जुन पुगेका थिए ।
शिखर जात्राका लागि टाढाबाट आउने भक्तजन साँझ नै मालिकार्जुन मन्दिर पुग्ने गरेका छन् । हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न सयौंको संख्यामा भक्तजनहरु मालिकार्जुन पुगेको मालिकार्जुन मन्दिर विकास समितिले जनाएको छ । पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पूण्यप्राप्ति हुने, मनोकामना पूरा हुनुका साथै निःसन्तानलाई सन्तान सुख समेत हुने जनविश्वास रहिआएको छ ।
विगत केहि वर्ष देखि कोरोना भाइरसका कारणले जात्रा खासै हुन न सके पनि यस बर्ष शिखर दर्शन गर्नेको भिडभने थेगि नसक्नु थियो ।



