गोकुलेश्वर। बैतडीसँग सीमा जोडिएको दार्चुलाको गोकुलेश्वर बजारमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ ।
विगतमा नै सडक कालोपत्रे भएपनि पार्किङका लागि बसपार्क नहुँदा समस्या भएको गोकुलेश्वर बस काउन्टरका प्रमुख श्रीराम जोशीले बताए । ‘दार्चुलाको प्रमुख र एक मात्र प्रवेशद्धार भएको यस बजारमा दिनहु साना ठूला गरी सयौंको संख्यामा सवारी साधन चल्छन् तर सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा समस्या भएको छ ।

आएका गाडीहरू सडक छेउमै राख्नुपर्छ । यसले दुर्घटनाको जोखिम बढेको छ’, उनले भने । ‘सडकको दायाँ र बायाँ किनारमा जिप र बस अटोहरू पार्किङ गरिएका हुन्छन् । मानिसलाई हिँड्नै अप्ठ्यारो छ’ उनले भने ।
पार्किङका लागि ठाउँ नहुँदा निजी सवारीसाधनहरूलाई झन् समस्या हुने गरेको छ । गोकुलेश्वरमा सवारीसाधन पार्किङका लागि बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले बताए । ‘बसपार्क नहुँदा हामीलाई सवारीसाधन व्यवस्थापनमा निकै समस्या भएको छ’, उनले भने, ‘सडक किनारमा गाडी रोकेर राखिएको हुन्छ ।
दार्चुला र बैतडी जिल्लाको व्यापारीक बजारको रूपमा रहेको गोकुलेश्वरमा मानिसको आवतजावत पनि बाक्लो नै हुन्छ । सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा आफ्ना निजी सवारी साधन लगेर जानेहरूलाई झन् समस्या हुने गरेको छ ।



