गोकुलेश्वर। दार्चुलाको दुहुँ गाउँपालिकाले विद्यालय उमेर समुहका किशोरीको सरसफाईलाई मध्यनजर गर्दै विद्यालयलाई सेनेटरी प्याड वितरण गरेको छ ।
कोरोना संक्रमणका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा प्रत्येक किशोरीको घरघरमा पुग्ने गरी विद्यालयलाई सेनेटरी प्याड वितरण गरेको गाउँपालिकाका सुचना अधिकारी विरेन्द्र राज जोशीले जानकारी दिए ।

किशोरीहरु महिनावारी भएको बेला प्रयोग गरिने सेनेटरी प्याड गाउँपालिका भरी रहेका माध्यमिक तथा आधारभुत विद्यालयहरुलाई कार्यबाहक अध्यक्ष तथा न्यायिक समिति संयोजक ईश्वरी जोशीले ४९ हजार ९ सय २० थान सेनेटरी प्याड वितरण गरेको सुचना अधिकारी जोशीले बताए ।
कोरोना संक्रमण फैलिएका कारण विद्यालयहरू बन्द भएपनि किशोरीहरुको महिनावारी र स्वास्थ्य सरसफाईलाई उच्च प्राथमिकता दिदै प्याड वितरण गरिएको जनाइएको छ । यस्तै पानी फिल्टर, डस्टबीन र साबुन समेत वितरण गरीएको छ ।
किशोरीहरुलाई दुहुँ गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको कार्यबाहक अध्यक्ष तथा न्यायिक समिति संयोजक जोशीले जानकारी बताए।
गाउँपालिका, प्रदेश सरकार र संघ सरकार तिन वटै तहले लिएका जनकल्याणका नीति तथा कार्यक्रमहरुलाई प्रभावकारीताका साथ कार्यान्वयन गर्न दुहँ गाउँपालिकाको कर्मचारी प्रशासन तल्लीन रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र सिंह बडालले बताए।



