गोकुलेश्वर। बैतडीका तीनओटा पालिकाकामा ५ हजार २५२ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।
यही साउन १७ गतेदेखि सञ्चालन भएको खोप अभियानमा पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका ५ हजार बढी नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाटनमा २ हजार २८४ जना, दोगडाकेदारमा १ हजार ५५० जना र डिलाशैनीमा १ हजार ४१८ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
यी तीनओटै पालिकामा साउन १७ र १८ गते खोप अभियान सञ्चालन भएको थियो । खोप अभियान अन्तर्गत ५५ देखि ६० बर्ष उमेर समूहका नागरिक, विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्यापक, कर्मचारी, सवारी साधनका चालक र सहचालक, यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई खोप लगाउने कार्य भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई २८ दिन भित्र दोश्रो मात्रा दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।



