गोकुलेश्वर। दार्चुलामा जंगली बँदेलले मकै बाली सखाप पार्न थालेको छ । जिल्लाको लेकम गाउँपालिका -५ को कैनाडी,गोगना बिरालीमा बँदेलले मकै बाली सखाप पारेको हो ।
राति बँदेलको बथान आएर किसानहरुले लगाएको मकै वाली नष्ट पार्न थालेपछि कैनाडी,पिड र गोगना बिरालीका किसानहरु चिन्तित बनेका स्थानिय चन्द्रदेब बिष्टले जानकारी दिए ।

बस्ती नजिकका जंगल सिरोडा, अमलाखानी र कुलेगाड बाट जंगली बँदेल आएर मकै नष्ट गर्ने गरेको उनले बताए। सोही गाउँका धर्मान्नद बिष्ट, दिपक खत्री,ज्ञानसिहं भाट,जयदेव सिहं भाट र चन्द्रदेब बिष्टको मकै वाली सखाप पारेको उनले बताए।
गाउँ नजिकैको जंगलबाट राति बँदेल आउन थालेपछि कैनाडी र गोगना बिरालीका नागरिक पहरा बस्ने गरेका भए पनि आधा रातमा आएर मकै बाली सखाप पार्न थालेको चन्दले बताए । यसरी किसानले मेहेनत गरेर लगाएको वाली हरु बर्षेनी जंगली जनावरहरुले सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन ।
बढ्दो वन विनाशका कारण जंगलमा आहारा नपाउदा जंगली जनावरहरु बस्तीमा छिर्ने गरेका छन । जिल्लाका विभिन्न ठाउँमा जंगली जनावरहरुले वर्षेनी बालीनालीमा क्षति पुर्याउने गरेकाले नागरिकहरुको कृषि पेशामा आर्कषण घट्दै गएको छ ।



