गोकुलेश्वर । कृषि ज्ञान केन्द्र दार्चुलाले जिल्लाका उत्कृष्ट कृषकलाई सम्मान गरेको छ ।

सोमबार सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको हो ।कृषकहरुको मनोबल उच्च राख्न जिल्लाभरिका तीन जना किसानलाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिए ।
उत्कृष्ट पुरुस्कारबाट सम्मानित हुनेहरुमा शैल्यशिखर नगरपालिकाका मौरीपालक कृषक प्रजापति भट्ट, मालिकार्जुन गाउँपालिकाका तरकारी उत्पादक कृषक अनिल लोहार र महाकाली नगरपालिकाका बंगुर पालक कृषक अम्मरसिह महरा रहेका छन् ।उत्कृष्ट कृषकहरुलाई जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कस्यप), प्रमुख जिल्ला अधिकारी अनिल पौडेल र महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले सम्मान गरेका छन् । उनीहरुलाई जनही नगद २५ हजार रुपैयाँ, खादा र कदर पत्र प्रदान गरेर सम्मानित गरिएको छ ।



