गोकुलेश्वर। दार्चुलाका शिक्षकहरुले शिक्षक, विद्यार्थी र विद्यालय कर्मचारीहरुलाई अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाउनु पर्ने माग राख्दै धर्ना दिएका छन् ।

नेपाल शिक्षक महासंघ जिल्ला समिति दार्चुलाको नेतृत्वमा शिक्षकहरुले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई कार्यालय अगाडी धर्ना दिएका हुन । शिक्षक, विद्यालय कर्मचारी र विद्यार्थीहरुलाई तत्काल खोप लगाउनु पर्ने, संघिय सरकारको बजेट अनुसारका बालविकास शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनु पर्ने, पालिका तहका शैक्षिक योजना निर्माणमा शिक्षकका पेशागत संघ संगठनको अनिवार्य प्रतिनिधित्व गराइनु पर्ने लगायतका माग राखेर धर्ना दिएको महासंघ जिल्ला समितिका अध्यक्ष राजेश सामन्तले जानकारी दिए।
धर्ना कार्यक्रममा बोल्दै वक्ताहरुले राज्यले शिक्षकहरुलाई फरक ढंगको व्यवहार गरेको बताएका छन् । उनीहरुले शिक्षकका मागको पुरा नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।



