गोकुलेश्वर। दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका—३ चौखुट्टे बस्ने ७२ वर्षीय गेउडी ठगुन्ना, उनकी ३ महिने नातिनी मन्जरी ठगुन्ना र सोही ठाउँ बस्ने वर्ष २९ का लक्ष्मण सिंह सितोली रहेको दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए।

गएराती भएको अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोमा पुरीएर एकै परिवारका दुई गरी तीन जनाको मृत्यु भएको उनले बताए। उक्त पहिरोमा परेर अर्की १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छन् । बुधबार राती पहिरो संगै खोलामा आएको बाढीले ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको उनले जानकारी दिए।
बाढीले खार र जामिर जोड्ने ५० मिटर लामो झोलुङ्गे पुल समेत बगाएको छ । उद्धारका लागी घटनास्थल तथा जिल्ला भरीका प्रभावित क्षेत्र तर्फ प्रहरी परीचालन गरीएको प्रहरी नायव उपरिक्षक भट्टले बताए। गाउँपालिका–६ धुलीगाडा स्थित २ वटा पानी घट्ट, ३ आरसीसी पुल, ३ खानेपानीका मुहान बगाएको छ, भने स्वास्थ्य चौकी भवन जोखिममा रहेको खबर प्राप्त भएको उनले बताए।



