गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका ८ स्थित गलैनाथ मावि झरकाँडामा नेपाल भारत विकास सहयोग अन्तर्गत निर्माण भएको विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

आज एक कार्यक्रमका बीच शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामीको अध्यक्षता एंव दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, पूर्वमन्त्री दिलेन्द्र प्रसाद वडूको प्रमुख आतिथ्यता र पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको विशिष्ट आतिथ्यतामा विद्यालय भवन उद्धघाटन गरिएको हो ।
विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा भारतीय राजदुतावास काठमाडौंका काउन्सलर अविनास कुमार सिंह, शैल्यशिखर नगरपालिकाका उप-प्रमुख शान्ती खडायत, प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट, एमाले दार्चुलाका पूर्वअध्यक्ष रामदत्त जोशी, वडाअध्यक्षहरु, विव्यस अध्यक्ष धनराम जोशी, प्रधानाध्यापक, शिक्षक, अभिभावक, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
करिव ४ करोड बजेटमा निर्माण गरिएको विद्यालय र कार्यालय भवन निर्माणमा भारतीय राजदुताबासको ८० प्रतिशत र शैल्यशिखर नगरपालिकाको २० प्रतिशत लगानी रहेको छ ।



