गोकुलेश्वर । चार महिना पछि बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आलोचना गरिएको छ । असोज ६ गते चालु आर्थिक वर्षको बजेट पारित गर्न बसेको प्रदेशसभाको बैठक पछि स्थगित सदन आइतबार बसेको थियो ।

बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समयमा आफ्ना धारणा राख्ने क्रममा सरकारको आलोचना गरेका हुन । प्रदेश सभामा बोल्दै माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले चार महिना सम्म सरकारले गरेका काम सदनमा जानकारी नगराइएको भन्दै आपत्ती जनाए । उनले प्रदेश सरकार स्थायी राजधानी स्थापनाका विषयमा बेखबर रहेको बताए । उनले भने ‘प्रदेशसभा स्थापना भएको आठ वर्षसम्म पनि राजधानी स्थापनाको निर्णय कार्यान्वयन गर्ने वा नगर्ने भनेर टुंयो लगाइएको छैन । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रदेशसभा सदस्य डा. तारा जोशीले सरकारले कार्यतालिका बनाएर काम गर्नुपर्ने बताए । उनले मुख्यमन्त्रीले कार्यतालिका बनाएर जानुपर्ने कुरामा जोड दिँदै आम नागरिकका असन्तुष्टिलाई कार्यतालिकाबिना सम्बोधन गर्न नसकिने बताए । जोशीले लामो समयपछि बैठक बसेकोले आफूलाई भर्खर चुनाव जितेर आएको जस्तो अनुभूति भएको भन्दै कटाक्षसमेत गरे । विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य खेमादेवी बिष्टले सुदूरपश्चिममा झुट बोल्नेहरुको तथ्याङ्क निकाले एक नम्बरमा मुख्यमन्त्री नै पर्ने बताइन् । बिष्टले गुप्तवासमा बसेको सरकारको दर्शन गर्न पाइएको भन्दै सरकारप्रति कटाक्ष गरिन् । उनले प्रदेशसभा सरकार बनाउन, गिराउन, बजेट बनाउनमा मात्रै केन्द्रित रहेको बताइन् । उनले भनिन् ‘सरकार बनाउने बेलामा देखिन्छ । सरकार बनाउन कसैसँग हात जोर्न पछि पर्दैन । तर सरकार बनेपछि सबै बिर्सिन्छ । हराउँछ । गाउँमा जाँदा युवा भन्ने जात भेटिरहेको छैन । प्रदेशको समृद्धि कागजको खोस्टोमा मात्रै भयो ।’
एकीकृत समाजवादीका प्रदेशसभा सदस्य प्रकाश रावलले चार महिनासम्म प्रदेशसभा बैठक नहुँदा सरकार हराएको गुनासो आउने गरेको बताए । प्रदेसभा सदस्यले जहाँ गए पनि गाली खानुपर्ने अवस्था सृजना भएको उनले बताए । ‘माननियज्यूहरु जता गयो त्यहिँ गाली खानुपर्ने अवस्था छ,’ उनले भने, ‘यो अवस्था सृजना गर्ने काम हामीबाटै भएको छ । प्रदेश सरकारको औचित्य छैन भन्न थालिएको छ । यो अवस्थालाई सुधार गर्न आवश्यक छ ।’ नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रम धामीले प्रदेश सरकारप्रति गुनासो बढ्दै गइरहेको बताए । उनले प्रदेशलाई बदनामीबाट मुक्त गर्नका लागि सबै मिलेर उपयुक्त वातावरण मिलाउन आवश्यक रहेको बताए । ‘त्यो वातावरण बनाउन सकिएन भने आगमी दिनहरु अझै खराब हुँदै जानेछन्,’ उनले भने ।



