गोकुलेश्वर । महाकाली नदी बैतडीको जुलाघाट र डडेल्धुराको शिर्षमा पक्कीपुल बन्ने भएको छ।

नेपाल–भारत वाणिज्य संयन्त्र बैठकमा महाकाली नदीको जुलाघाट र शिर्षमा मोटरेबल पुल निर्माण गर्न भारतीय पक्ष सहमत भएको हो। पाँच वर्षपछि बसेको बैठकमा कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण र गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने सहमतिसमेत भएको छ। सुक्खा बन्दरगाहा निर्माणको काम जग्गा अधिग्रहण लगत्तै सुरू हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए।
‘बैतडीको जुलाघाट र डडेल्धुराको शिर्षमा महाकाली नदीमा मोटरेवल पुल निर्माण गर्ने भारतीय पक्षसँग सहमति भएको छ। भर्खरै सम्पन्न नेपाल–भारत वाणिज्य संयन्त्रको बैठकमा महाकाली नदीमा पुल निर्माणको काम अगाडि बढाउन भारत सहमत भएको छ,’ मन्त्री भण्डारीले भने। जुलाघाटमा पुल निर्माण गर्न भारत सरकारले डिपिआर तयार गरेको मन्त्री भण्डारीले बताए। करिव पाँच अर्बको लागतमा पुल निर्माण हुने तथा भारत सरकारले डिपिआर तयार गरेको उनको दाबी छ।
‘अदालतमा मुद्दा परेकाले पुल निर्माणको काम रोकिएको हो। अदालतबाट मुद्दा किनारा लाग्ने वित्तिकै पुल निर्माणले गति लिने छ,’ उनले भने, ‘दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माण गर्न भारत सरकारले छिट्टै टेण्डर निकाल्ने सहमति भएको छ। रुख कटान सक्किने वित्तिकै भारत सरकारले टेण्डर खोल्ने सहमति भएको छ।’ नेपाल–भारत वाणिज्य संयन्त्रको बैठकमा गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने सहमति भएको छ।



