No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष ९ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने

pm office

गोकुलेश्वर । सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष पनि ९ जना विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ।
यसका लागि प्रक्रिया सुरु भइसकेको प्रदेशको सामाजिक विकासमन्त्रालयले जनाएको छ। प्रदेश सरकारको छात्रवृत्तिमा हाल ३५ जना विद्यार्थीले एमबीबीएसको अध्ययन गरिरहेका छन्। प्रदेश सरकारले हरेक वर्ष ९ जनाका दरले हालसम्म ३५ जनालाई छात्रवृत्ति दिएर चिकित्सा शास्त्र संकायतर्फ स्नातक अध्यापन गराइरहेको छ।
एमबीबीएस अध्ययनमा लाग्ने सम्पूर्ण शुल्क प्रदेश सरकारले छात्रवृत्तिका रूपमा तिर्ने गरेको छ। अध्ययनरत ३५ जनामध्ये २७ छात्र र ८ छात्रा छन्। उनीहरू देशका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत छन्। एमबीबीएस अध्ययन पूरा गरेपछि उनीहरूले दुई वर्ष अनिवार्य रूपमा प्रदेशमै सेवा गर्नुपर्ने सर्त रहेको सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत गोपालदत्त जोशीले बताए।
प्रदेश सरकारको छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीमध्ये सबैभन्दा धेरै बझाङका छन्। बझाङबाट ६ छात्र र दुई छात्रा अध्ययनरत छन्। बाजुराबाट तीन छात्र, कञ्चनपुरबाट तीन छात्र र दुई छात्रा, दार्चुलाबाट चार छात्र र एक छात्रा, डोटीबाट तीन छात्र र एक छात्रा, कैलालीबाट चार छात्र, अछामबाट तीन छात्र, डडेलधुराबाट एक छात्र र एक छात्रा तथा बैतडीबाट एक छात्रा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत छन्।
सरकारले २०७८ देखि छात्रवृत्ति दिन थालेको हो। २०७९ मा भने दुई चरण गरी १८ जनालाई छात्रवृत्ति दिइएको मन्त्रालयले जनाएको छ। पहिलो ब्याचमा छात्रवृत्ति पाएका विद्यार्थी अहिले पढाइको अन्तिम वर्षमा पुगेका छन्। सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका दलित, आदिवासी, जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिएको क्षेत्र र जेहेन्दार तथा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिँदै आएको छ।
प्रतिस्पर्धीबाट मूल्यांकनमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई छात्रवृत्तिका लागि सामाजिक विकास मन्त्रालयले छनोट गर्दै आएको छ। छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई प्रतिवर्ष १० लाख रुपैयाँका दरले पाँच वर्षसम्म निरन्तर छात्रवृत्ति रकम प्रदान गरिँदै आएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.