गोकुलेश्वर । हिन्दुहरुको महान चाड बडा दशैं सुरु भएसंगै स्वदेश फर्किनेको संख्या बढ्दै गएको छ।

महान चाड बडा दशै, तिहार र छठपर्व मनाउन यतिबेला नेपाल–भारत सीमा नाका भएर ठूलो संख्यामा परदेशीहरु घर फर्किन थालेका छन्। भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट, जोलाजिबी हुँदै घर फर्किनेको संख्या बढ्दै गएको छ। यी नाका भएर दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किरहेका छन्।
चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सहजीकरण गर्ने सहमति समेत भएको छ। यस्तो सहमति नेपाल–भारत सीमा सुरक्षाअधिकारीहरुबिच भएको हो। तर, अहिले पनि आवागमनमा सास्ती भने कायमै छ। ठाउँठाउँमा हुने चेकजाँचका कारण श्रमिकले अनावश्यक झनझटको सामाना गर्नुपरिरहेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले विगतको भन्दा आवागमनमा सहजता भएको भएको बताएका छन्। नाकामा बस्ने उत्तर प्रदेश प्रहरीको खासै केही भूमिका नहुने उनले बताए। एसएसबीले पूर्ण रूपमा सहजीकरण गरिरहेको उनको तर्क छ। सीमा सुरक्षा र भन्सार सुरक्षाका कारण सीमाका ठाउँठाउँमा चेक पोस्ट राखिएको छ।



