गोकुलेश्वर । सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ । सिंह संक्रान्ति अर्थात् भाद्र संक्रान्तिका दिन सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा ओल्के पर्व मनाउने गरिन्छ । ओल्के पर्वमा आफूभन्दा ठुला, मान्यजन तथा जेष्ठ नागरिकलाई सम्मान गर्ने चलन छ ।
बिहानै नुहाइधुवाइ गरी आफूभन्दा जेठा व्यक्ति र मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल, मीठो मसिनो खानेकुरा दिएर सम्मान गर्नु यो पर्वको मुख्य विशेषता रहेको छ । साथै पिङ खेल्ने, देउडा, ठाडी भाका तथा लोकलयमा गीत गाउने गरिन्छ ।

यो पर्व सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गडवाललगायतका ठाउँमा पनि मनाउने गरिएको छ । वर्षायाम शुरु हुनासाथ विभिन्न प्रकोप, रोग र महामारी फैलिन सक्छ भन्ने विश्वासका साथ बिंशु पर्व मनाइन्छ भने यस्ता महामारीबाट जोगियो भनेर खुशीयाली साट्न ओल्के पर्व मनाउने गरिएको विश्वास छ ।
स्थानीय भाषामा पींडालुको भित्रीमा गुबोे दिएर, मिठो मसिनो खाएर र अन्य फरक मौलिक तरिकाले ओल्के मनाइन्छ । वर्खाभरी कामको ब्यस्तताले चेलीबेटी माइत नआउने र आजका दिन आउने भएकाले आमाछोरीको पहिलो भेटका रुपमा पनि लिने चलन छ ।
वर्तमान समयमा ओल्के दिने र माग्ने परम्पराका जातिगत र वर्गगत आधार भने कमजोर बन्दै गइरहेका छन् वा समाप्त नै भइसकेका छन् भन्दा पनि हुन्छ। पहिलेको सामाजिक संरचनाअनुसार रहेका परम्परा वर्तमान समयमा त्यहीअनुरूप हुनपर्छ भन्ने पनि होइन । संस्कृतिको विशेषता नै परिवर्तनशील रहनु भएकाले सोही कुरा यस पर्वका सन्दर्भमा पनि लागु भएको देखिन्छ जसलाई स्वाभाविक मान्न सकिन्छ। ओल्को माग्ने र दिने परम्परा विस्तारै हट्दै गए पनि भाद्र सङ्क्रान्तिलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन भने रहिआएको छ।
