गोकुलेश्वर। इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिह ऐरीको बिदाई गरिएको छ ।
ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट सरुवा भई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय गएका प्रहरी निरीक्षक ऐरीको सोमबार एक भब्य कार्यक्रमका बीच सम्मानसहित फूलमाला र खादा लगाई बिदाई गरिएको हो ।
बिदाइ कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक ऐरीले आफू सरुवा भई जाँदा यहाँका स्थानीयलगायत सबैले आ-आफ्नो ठाउँबाट देखाएको आत्मियता स्मरणीय रहेको बताए । आफ्नो करिब १ वर्षको कार्यकालमा यस क्षेत्रको शान्ति सुरक्षालगायतका विषयमा यहाँका स्थानीयको महत्वपूर्ण समन्वय गरेको प्रहरी निरीक्षक ऐरीले उल्लेख गरे ।
यस्तै, कार्यक्रममा स्थानीयले यहाँको दिगो सुरक्षाको पक्षमा काम गरेकाले उनलाई धन्यवाद दिँदै एक मेहनति प्रहरी अधिकृतको रुपमा ऐरीले निकै उत्कृष्ट कार्य गरेको उल्लेख गरे ।
इप्रका गोकुलेश्वर प्रहरीको नेतृत्व सम्हालेर एक वर्षसम्म प्रहरी निरीक्षक ऐरीले कुशल कार्य गरेको भन्दै सबैले प्रशंसा गरेका छन् । सो अवधिमा शान्ति सुरक्षा मजबुद भएकै कारण खासै अप्रिय घटना भने नभएको स्थानीयले बताएका थिए ।
कुशल नेतृत्वकर्ताको जहाँ, जहिले पनि सम्मान हुने बताउँदै प्रहरी निरीक्षक ऐरीले गोकुलेश्वरमा रहँदा गरेका कार्य स्मरणीय रहने काम गरेको स्थानीयले बताए ।
सो अवसरमा बिदाई ग्रहण गर्दै प्रहरी निरीक्षक ऐरीले एक वर्षसम्म गोकुलेश्वरमा रहँदा यहाँका जनप्रतिनिधि, संघसंस्थाका प्रमुख र जनताको साथ पाएको बताए ।
यस्तै उनले आफ्नो कार्यकालमा भएको तितामिठा कुराहरुलाई स्मरण गर्दै प्रहरीको कर्तव्य पालनको क्रममा भएका कार्यहरूबाट सेवाग्राहीहरुको मनमा ठेस पुगेको भए त्यसलाई आजै बिर्सिदिन आग्रह गरे ।

ऐरीले २०८० भाद्र ११ गते गोकुलेश्वरको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।जिम्मेवारी सम्हालेपछि ऐरीले इप्रका गोकुलेको कार्य क्षेत्रभित्र हुने गरेको लागुऔषध कारोवार, देहब्यार, अवैध मदिरा कारोबार,अवैध काठ कटानी, चोरीतस्करीका साथै अपराधिक गतिविधी नियन्त्रणका लागि अपरेसन सन्चालन गरेका थिए ।
सो अपरेसन बमोजिम गोकुलेश्वर प्रहरीले रफतारमा काम गर्दै सो अपरेसन सफल पार्यो । लागू औषधविरुद्धको अभियान अन्त्य गर्न इन्सपेक्टर ऐरी रातदिन कम्मर कसेर लागि परे ।
लागूऔषध कारोबार गर्नेदेखि प्रयोग गर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्दै कारबाही गर्न थाल्यो । लागूऔषध दुर्व्यसनमा युवाहरु बढी फसेको पाइएपछि प्रहरीले लागूऔषधविरुद्ध विशेष अभियान सञ्चालन गरेर गोकुलेश्वरलाई लागूऔषध मुक्त बनाउन प्रहरी सकृय बनेको थियो ।
प्रहरी निरीक्षक ऐरीको सकृयतामा लागूऔषध कारोवार नियन्त्रण गर्न लागिरह्यो । सोही अभियान अन्तर्गत शैल्यशिखरबाटै प्रहरीले थुप्रै लागूऔषधका कारोवारी पक्राउ गर्यो । प्रहरी निरीक्षक ऐरीको कमान्डमा खटिएको टोलीले शैल्यशिखरबाटै २३ दिनको अवधिमा मात्रै १२ किलो ९ सय ५० ग्राम चरेससहित १ महिलागरी ४ जनालाई पक्राउ गरेको थियो ।
गोकुलेश्वरको जिम्मेवारी सम्हालेको दुई महिना नबित्दै प्रहरी निरीक्षक ऐरीले शैल्यशिखरबाटै १२ किलो ९ सय ५० ग्राम चरेससहित ४ जनालाई पक्राउ गरेका थिए ।
यस्तै, गत वर्ष भाद्र १८ गते उनकै आग्रहमा दार्चुलाका एक बालकको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीको डिलाशैनी गाउँपालिका—६ बङगाबगरकी एक महिलालाई गोकुलेश्वर अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज लग्न आएको नेपाली सेनाको हेलिकोप्टरमा घरको छतबाट लडेर गम्भीर घाइते भएका दार्चुलाको शैल्यशिखर नगरपालिका—१ बलाच बाँज बस्ने ५ वर्षीय आरुष खडायतको प्रहरी निरीक्षक ऐरीको आग्रहमा हेलिकोप्टरमार्फत उद्धार गरि थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।
बिदाइ कार्यक्रममा शैल्यशिखर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभन्न राजनीतिक दलका पदाधिकारी, ब्यापारी, विभिन्न संघसस्थाका पदाधिकारी र गोकुलेश्वरका स्थानीयको सहभागिता रहेको थियो ।
यस्तै, छिमेकी स्थानीय तह बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिलगायत स्थानीयले पनि ऐरीको फूलमाला र खादा लगाई बिदाई गरेका थिए ।



