गोकुलेश्वर।नेकपा (एकीकृत समाजवादी) दार्चुलाले दार्चुला-टिंकर सडकमा बजेट थप्न सरकारसंग माग गरेकाे छ ।
नेकपा एसका दार्चुला जिल्ला सहइन्चार्ज गणेशकुमार जाेशी र जिल्ला अध्यक्ष किशनसिंह धामीकाे संयुक्त हस्ताक्षरबाट पार्टी कार्यालयमा मंगलवार पत्रकार सम्मेलन आयाेजना गरि विज्ञप्ति निकाल्दै नयाँ बजेटमा आवश्यक रकम विनियोजन नभएको भन्दै बजेट थपकाे माग गरिएको हाे ।
विगतमा न्यून बजेट विनियोजन भएकोमा नयाँ बजेटले पनि टिंकर सडक निर्माणलाई उपेक्षा गरेकाे नेकपा एस दार्चुलाको आराेप छ । वामपन्थीहरूकाे संलग्नतामा बनेकाे सरकारले समेत आवश्यकभन्दा कम बजेट विनियोजन गर्नु दुखद भएको नेकपा एसकाे भनाइ छ ।

सरकारमा रहेका पहुचवाला नेताले आफ्नो गृहजिल्लामा व्यापक बजेट राखे पनि अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा निर्माण भइरहेको टिंकर सडकलाई प्राथमिकता नदिइएको एस दार्चुलाका सहइन्चार्ज जोशीले बताए ।
व्यासक्षेत्रका साैका समुदायले भारतिय मार्ग भएर आवतजावत गर्नुपरेकाे अवस्थामा टिंकर सडक निर्माणलाई प्राथमिकताका साथ बजेट दिनुपर्ने उनको भनाइ छ ।
कैलाश-मानसरोवरकाे यात्रा समेत सञ्चालन गर्न सकिने भएकोले टिंकर सडक निर्माणमा न्यून बजेट विनियोजनकाे दुखद अवस्थाप्रति ध्यानाकर्षण गराइएको छ ।
केही महिनाअघि तत्कालीन भाैतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासंग लिखित रूपमा टिंकर सडकलाई छुट्टै याेजना बनाइ पर्याप्त बजेट विनियोजन गर्न माग गरिएको थियो ।सरकारमा विभागिय मन्त्री हेरफेर भएपछि आफुहरूकाे माग सम्बाेधन हुन नसकेको र नयाँ बजेटले थप निराश बनाएको उनले बताए ।
यस्तै आसन्न नेकपा एसकाे दशाैं महाधिवेशनमा टिंकर सडक ओझेलमा पारिएको मुद्दा उठाएर पार्टीमार्फत देशकै ध्यानाकर्षण गराउने काममा आफुहरू सक्रिय हुने नेकपा एसका जिल्ला अध्यक्ष किशन सिंह धामीले बताए ।



