गोकुलेश्वर । आर्थिक सर्वेक्षण ०८०। ८१ अनुसार विद्यालयमा विद्यार्थी टिकाउ दर बढेको पाइएको छ । छात्रवृत्ति र दिवा खाजा कार्यक्रमका कारण विद्यालयमा विद्यार्थी टिकाउ दर बढेको हो ।

आर्थिक सर्वेक्षण ०८०। ८१ अनुसार शैक्षिक सत्र ०८० मा कक्षा ८ सम्मको टिकाउ दर ८६.२ प्रतिशत छ । कक्षा १० सम्मको टिकाउ दर ६९.९ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३७.७ प्रतिशत पुगेको छ । अघिल्लो शैक्षिक सत्र ०७९ मा कक्षा ८ सम्म ८५.७ प्रतिशत, कक्षा १० सम्म ६७.३ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३५.६ प्रतिशत थियो ।
०८० मा तल्लो तहमा विद्यार्थी संख्या बढेको देखिएको छ । आधारभूत तह कक्षा १–५ सम्म ०७९ मा ४७.२ रहेकोमा ०८० मा बढेर ५४.१ प्रतिशत पुगेको छ । त्यस्तै, कक्षा १ मा भर्ना हुन आउने विद्यार्थी संख्या पनि क्रमशः बढ्दै गएको सर्वेक्षणले देखाएको छ । ०८० मा बालविकास पठनपाठन हुने विद्यालय संख्या पनि बढेको छ भने विद्यार्थी संख्या पनि बढ्दो देखिएको छ । ०७९ मा बालविकास केन्द्रको अनुभव लिई कक्षा १ मा भर्ना हुने विद्यार्थीको अनुपात ७६.७ रहेकोमा यस वर्ष ७६.९ पुगेको छ ।
०८० मा बालविकास भर्ना भएका ८६ हजार ५२६ विद्यार्थीमध्ये ४९.७ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालय र ५०.३ प्रतिशत विद्यार्थी निजी विद्यालयमा भर्ना भएका छन् । यस तहमा अध्ययन गर्नेमध्ये छात्रको संख्या बढेको तथ्यांकले देखाएको छ ।
