गोकुलेश्वर । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्री सुरेन्द्र पाल सहित थप सात मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । यसअघि डेढ महिनादेखि मुख्यमन्त्रीसहित तीन सदस्यीय सरकार मात्र रहेको थियो ।
अब मन्त्रीपरिषद १० सदस्यीय भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विस्तार गरेको मन्त्री परिषदका सदस्यलाई सोमबार प्रदेश प्रमुख नजिर मियाले एक समारोहबिच पद तथा गोपनियताको शपथग्रहण गराए ।

शपथग्रहण गर्नेमा नेकपा एमाले का सुरेन्द्र पाल आर्थिक मामिला र नेकपा माओवादी केन्द्र का ओमविक्रम भाटले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएको छ ।
यस्तै, एमालेका वीरबहादुर थापा, हिरासिंह सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी विक र नेकपा एकीकृत समाजवादी का माया पन्तले तत्काललाई विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरे।
यसअघि नागरिक उन्मुक्ति पार्टीका क्रमशः कैलाश चौधरी भौतिक पूर्वाधार र टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त भइसकेका छन ।
स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने भनिए पनि उहाँले मन्त्री धेरै भएको र मन्त्रालय फुटाइनु ठिक नहुने भन्दै शपथग्रहण गर्न तयार हुनु भएन ।
