गोकुलेश्वर । सुक्खायामका कारण नदीहरूमा जलस्तर घट्दा सुदूरपश्चिममा विद्युत उत्पादन घटेको छ। सुक्खायाम सुरू भएसँगै प्रदेशभर कुल उत्पादन क्षमताको एक तिहाइ मात्र विद्युत उत्पादन भइरहेको छ।

विद्युत गृहमा पानीको बहाव घट्दा विद्युत उत्पादन प्रभावित भएका बेला माग भने तीन गुणाले बढेको छ। सुदूरपश्चिम प्रदेशभर हिउँदमा करिब ३० मेगावाट विद्युत खपत हुने गरेकोमा अहिले भने दैनिक ८५ देखि ९० मेगावाट खपत भइरहेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए।
सुदूरपश्चिमबाट १० वटा जलविद्युत आयोजनाबाट उत्पादित उर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। दार्चुलाको अपर चमेलिया, चमेलिया, नौगाड–१ र नौगाड–२ तथा मकरीगाड जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। यस्तै, बझाङमा कालङ्गा, बुङ्गल, सानीगाडसहित चारवटा जलविद्युत आयोजना सञ्चालित छन्। यसैगरी डोटीमा ३ मेगावाट क्षमताको सालमुनीगाड जलविद्युत योजना सञ्चालनमा छ।
