गोकुलेश्वर । गृह मन्त्रालयका सचिवसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू भ्रमणको सिलसिलामा दार्चुला आएका छन । मंगलबार आज बिहानै हेलिकप्टरबाट गृह सचिवसहित सुरक्षा प्रमुखको टोली दार्चुला पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको टोली दार्चुला पुगेको हो ।अहिले गृह सचिव नेतृत्वको टोली त्रिदेशीय सीमा क्षेत्र ब्यासतर्फ प्रस्थान गरेको प्रजिअ जोशीले बताए ।
टोलीले ब्यास गाउँपालिका–१ छाङ्रू र तिंकरमा स्थापना गरिएका सुरक्षाकर्मीहरूका पोस्ट भवनहरूको निरीक्षण अनुगमन गर्ने छन । वडा नम्बर १ कै छाङ्रुस्थित नम्बर ५० गुल्मको अनुगमन गरी जिल्ला सदरमुकाम खलंगा फर्कने कार्यतालिका रहेको छ । जिल्ला सदरमुकाम पुगेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रशासनले जनाएको छ ।



