गोकुलेश्वर । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको एक सिट थप भएको छ।
बझाङमा शनिबार सम्पन्न उपनिर्वाचनबाट एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजय भएपछि प्रदेश सभामा सो पार्टीलाई लाभ पुगेको हो। बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन्।

२०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ। सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्। कांग्रेसले भने सिट संख्या गुमाएको छ। अन्तिम मत परिणाम अनुसार एमालेका दमनबहादुर भण्डारीले ११ हजार ६ सय १३ मतले विजयी भएका छन्।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए। मत गणना सुरु भएदेखि नै यी दुइ उम्मेदवारबिच कडा प्रतिस्पर्धा भएको थियो। त्यस्तै नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाको ३ हजार ९ सय ६७ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले भने २ हजार ५ सय १३ मत मात्र प्राप्त गरेका छन्।
विभिन्न ११ दलबाट ११ जना उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो।
