गोकुलेश्वर। सिटिजन लाइफ इन्स्योरेन्समा बीमा भरेमा अनुदान दिन्छु भन्दै ठगी गर्ने एक जनालाई बैतडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको पाटन नगरपालिका -२ सिलंगाका ३४ बर्षीय कमलराम विकलाई उनकै घरबाट बुधबार बिहान १० बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले सेतिकालीलाई जानकारी दिए ।

उनले भने ‘स्थानीय नागरिकहरुले दिएको जाहेरीको आधारमा हामीले विकलाई नियन्त्रणमा लिएका छौं । उनीमाथि अनुसन्धान गरिरहेका छौं ।’ विकले सिटिजन लाइफ इन्स्योरेन्समा बीमा भरिदिन्छु भन्दै स्थानीयहरुबाट रकम संकलन गरेर ठगि गरेको पाइएको प्रहरी निरीक्षक शाहीले बताए ।
विकले बैतडी जिल्लाको बिभिन्न नगरपालिका ,गाउँपालिकाका ,वडाहरुबाट र त्यसतै कञ्चनपुरका बिभिन्न नगरपालिका ,गाउँपालिका र वडाहरुमा गई सर्वसाधारणहरुबाट ४१ लाख ८८ हजार ६९० रुपियाँ ठगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
स्थानीयहरुले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि विकलाई नियन्त्रणमा लिएको र बिहीबार उनी विरुद्ध मुद्दा दायर हुने प्रहरी निरीक्षक शाहीले बताए ।



