गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका—९ स्थित गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम अलपत्र परेको छ ।
गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर खरिदका लागि १५ असार २०७८ मा सामाजिक विकास मन्त्रालयले कुल लागतको ६० प्रतिशत, ह्युमानिटी फाउन्डेसनले ३० प्रतिशत र शैल्यशिखर नगरपालिकाले १० प्रतिशत बेहोर्ने गरी कुल १ करोड २० लाखमा सम्झौता भएको थियो ।
सो सम्झौता अनुसार कोभिड–१९ को विषम परिस्थितिलाई ख्याल गर्दै सम्झौता भएको २ हप्ता अर्थात २९ असारमा सक्नुपर्ने हो । तर, ह्युमानिटी फाउन्डेसन धनगढीले पाएको ठेक्कामा उल्लेख सम्झौता अवधि सकिएको साढे २ वर्ष बितिसक्दा पनि काम अलपत्र छ ।
फाउन्डेसनले मशिन खरिद, आपूर्ति र जडानका लागि काठमाडौंस्थित मिसन रिवल्ड नेपाल र मेडिअक्सी प्रा.लिसँग सम्झौता गरेको थियो । आपूर्तिकर्ताले तोकिएकै समयमा सामान दिन नसक्दा र शैल्यशिखर नगरपालिकाले मशिन जडानका लागि भवन निर्माण तथा बिजुली जडानको काम नगर्दा योजना अलपत्र परेकोे फाउन्डेसनका कोषाध्यक्ष मानसिंह साउँद बताउँछन् ।
भवन, बत्तीलगायतका अन्य आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ भएका कारण अस्पतालमा अक्सिजन प्लान्ट ६ महिनाअघि नै पु¥याइसक्दा पनि सञ्चालनमा आउन नसकेको उनी दाबी गर्छन् ।
प्लान्ट जडान गर्नुपर्ने आपूर्तिकर्ता कम्पनीले फट्याइ गरेको देखिएको छ । कुल लागत १ करोड २० लाख रहे पनि आपूर्तिकर्ताले सम्झौतापछि लागत रकम बढाएर १ करोड ३५ लाख ५७ हजार १४ रुपैयाँ २२ पैसा माग गरेको देखिन्छ । त्यसमा पनि फाउन्डेसनले १ करोड २६ लाख बुझाइसकेको छ । यो रकम सामाजिक विकास मन्त्रालयसँगको सम्झौताभन्दा ६ लाख बढी हो ।
अक्सिजन प्लान्ट निर्माणका लागि सामाजिक विकास मन्त्रालयले आफ्नो भागमा परेको एक करोडमध्ये ५० लाख र नगरपालिकाले १३ लाख रकम फाउन्डेसनलाई भुक्तानी दिइसकेको छ ।
मन्त्रालय र नगरपालिकाबाट भुक्तानी भएको रकममा दातृ निकायबाट प्राप्त रकममध्ये ६३ लाख थपेर फाउन्डेसनले आपूर्तिकर्ता भनिएको मेडिअक्सी प्रा.लि.लाई काम नसकिँदै १ करोड २६ लाख भुक्तानी दिएको छ ।
फाउन्डेसनका कोषाध्यक्ष साउँदका अनुसार फाउन्डेसनले २०७८ जेठ ७ गते पहिलोपटक ४० लाख, जेठ १४ गते ३ लाख, जेठ १६ गते २० लाख, असार २० गते १४ लाख र असारकै २१ गते ४९ लाख रकम भुक्तानी दिएको छ । आपूर्तिकर्ताबाट भएको गम्भीर धोकाका कारण समस्या गिजोलिँदै गएको उनको गुनासो छ ।
आपूर्तिकर्तालाई एक करोड २६ लाख रकम भुक्तानी दिइसक्दा पनि सम्झौताअनुसार दुईवटा मशिन अझै गोकुलेश्वर पुग्न सकेको छैन् । आपूर्तिकर्ताले अक्सिजन उत्पादन मशिन मात्रै गोकुलेश्वर पु¥याएको छ । उत्पादनपछि सिलिन्डरमा भर्ने मशिन गोदाममै थन्क्याएर राखिएको छ । प्लान्ट निर्माण कार्यका लागि म्याद थप समेत भएको छैन ।

एउटा मशिन मात्र प्राप्त भएको र त्यो मशिन ७ महिनादेखि गोदाममै थन्किएको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवदत्त जोशीले बताए । मशिन पुगे पनि बिजुली जडान र मशिन राख्ने स्थान निर्माणका लागि बजेट नहुँदा काम रोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामी बताए ।
‘२०७७÷८८ मा १३ लाख भुक्तानी दिएको छ । त्योबेला बजेट थियो, अहिले ८० हजार भए पुग्छ, तर हामीसँग त्यो शीर्षकमा रकम छैन् ।’ उनले भने, ‘कार्यपालिकाबाट रकमान्तर गरेर काम अघि बढाउँछौं ।’
पुगेको मशिन जडान हुन नसक्नुको कारण नगरपालिकाको फितलो तयारी मात्रै होइन, आपूर्तिकर्ताको बेइमानी पनि हो ।
ह्युमानिटी फाउन्डेसनले १ करोड २६ लाख आपूर्तिकर्तालाई भुक्तानी गरिसकेको छ । अब ९ लाख ५७ हजार रुपैयाँ २२ पैसा मात्रै भुक्तानी गर्न बाँकी छ ।बाँकी रहेको उक्त रकम नपाएसम्म मशिन जडान र हस्तान्तरण नगर्ने भन्दै आपूर्तिकर्ताले फाउन्डेसनसँग बार्गेनिङ गरिरहेको छ ।
’कठिन घडी र आर्थिक संकटको समयमा सरसापट र आफ्नो व्यवसायको रकमबाट आपूर्तिकर्तालाई भने जति रकम पठायौं । १ करोड २६ लाख रुपैयाँ बुझाएको दुई वर्ष बितिसक्यो, तर अहिलेसम्म त्यहाँ एक करोड रुपैयाँको सामान पनि गएको छैन । गोकुलेश्वर अस्पतालमा प्राविधिक टीम पठाएको मेडिअक्सी कम्पनीले उल्टै बार्गेनिङ ग¥यो, पहिले १० लाख रुपैयाँ पठाउनुहोस्, अनि मात्र काम गर्छौं भनेर । पैसा पठाउन नसक्दा उसले आफ्ना कर्मचारी फिर्ता बोलायो । १० लाख रुपैयाँ नबुझाएसम्म प्लान्ट जडान नगर्ने अडान मेडिअक्सी कम्पनीले लिएको छ ।’ कोषाध्यक्ष साउँदले भने ।
गोकुलेश्वर अस्पतालमा निर्माण हुने भनिएको अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर खरिद प्रक्रियाभित्र गञ्जागोल छ ।
फाउन्डेसनका पदाधिकारीहरूले दाताहरूबाट संकलन गरेर आपूर्तिकर्तालाई दिएको ६३ लाख रकम पनि डुबेजस्तै अवस्थामा छ । नगरपालिकाले दिएको १३ लाखको समेत कुनै उपलब्धि देखिएको छैन् ।
चौतर्फी घेराबन्दीमा परेका फाउन्डेसनका अध्यक्ष श्याम तायल, उपाध्यक्ष पुष्करराज ओझा, महासचिव दीर्घराज उपाध्याय र कोषाध्यक्ष मानसिंह साउद लगायतका पदाधिकारीसँग कानूनी प्रक्रियाबाहेक अन्य विकल्प छैन् ।
आपूर्तिकर्ता मेडिअक्सीले भने १० लाख हाराहारीको रकम भुक्तानी नभएसम्म मशिन हस्तान्तरण गर्न नसकिने बताउँदै आएको छ । ’हामीले एउटा मशिन दार्चुला पु¥याएका छौं । रकम भुक्तानी अधुरै रहेका कारण अर्को मशिन हाम्रो गोदाममा छ । दुई वर्षसम्म पनि जम्मा रकम भुक्तानी हुन सकेन । हामी रकम नपाएसम्म मशिन जडान गरी हस्तान्तरण गर्दैनौं,’ मेडिअक्सीका इन्जिनीयर भण्डारीले भने ।
खरिद, आपूर्ति र जडानको जिम्मेवारी पाएका मिसन रिबिल्ड नेपालका अध्यक्ष डा. मदन उप्रेती अमेरिकामा बस्छन् भने मेडिअक्सी प्रा.लिले लिएका प्रबन्धक दुबईमा छन् ।
ह्युमानिटी फाउन्डेसनले बैतडी, बझाङ र दार्चुलाका नागरिकलाई पायक पर्ने गरी शैल्यशिखरस्थित गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने लक्ष्य लिएको थियो ।तर,अक्सिजन प्लान्ट जडान कार्य अलपत्र छ ।
