लागुऔषध नियन्त्रणमा गोकुलेश्वर प्रहरीको सक्रियता,शैल्यशिखरबाटै २३ दिनमा झण्डै १३ किलो चरेस बरामद
१ महिला सहित ४ जान पक्राउ
गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाबाट गोकुलेश्वर प्रहरीले २३ दिनको अवधिमा झण्डै १३ किलो चरेस सहित ४ जनालाई पक्राउ गरेको छ ।
बैतडी,बझाङ लगायतका जिल्लाहरुबाट लागुऔषध ल्याएर भारतीय सीमा क्षेत्रमा पुगाउनको लागि टन्जिट प्वाईन्ट बनेको शैल्यशिखरबाटै प्रहरीले १२ किलो ९ सय ५० ग्राम चरेस बरामदगरि १ महिला सहित ४ जनालाई पक्राउ गरेको हो ।
गत भाद्र २६ मा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीको कमाण्डमा खटिएको टोलीले शैल्यशिखर नगरपालिका—९ नायलबाट ८ किलो ८ सय ५० ग्राम चरेशसहित २ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका—४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षिय जयबहादुर धानुक रहेका थिए ।उनीहरुले सो चरेस बझाङबाट ल्याए गोकुलेश्वर हुँदै भारतको झुलाघाट लगेर बेच्नका लागि ल्याएका थिए ।
त्यस्तै,(आज) बुधबार प्रहरी निरीक्षक ऐरीकै कमाण्डमा खटिएको टोलीले शैल्यशिखर नगरपालिका—३ कर्कलेबाट ४ किलो १ सय ग्राम चरेस सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दार्चुलाको मार्मा गाउँपालिका—१ घोल्जरका २० वर्षिय सहदेबसिंह ठगुन्ना र सोही ठाउँका २८ वर्षिय विर्ख ठगुन्ना रहेका छन् । उनीहरुले सो चरेस गोकुलेश्वर बजामा बिक्रीवितरण गर्ने उद्देश्यले ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहको निर्देशन र इलाका प्रहरी कार्यालय प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक ऐरीको सकृयतामा गोकुलेश्वर प्रहरी शैल्यशिखरमा आगुऔषध कारोवार नियन्त्रण गर्न लागिपरेको छ ।
लागुऔषध दुव्र्यसनमा युवाहरु बढी फसेको पाइएपछि प्रहरीले लागुऔषधविरुद्ध बिशेष अभियान सञ्चालन गरेर जिल्लालार्ई लागुऔषध मुक्त बनाउन प्रहरी सकृय बनेको डिएसपी सिंहले बताए ।
उनका अनुसार जिल्लामा हुने गरेको लागुऔषध कारोवार,देहब्यार,अबैध मदिरा कारोवार,अबैध काठ कटानी,चोरीतस्करीका साथै अपराधिक गतिविधी नियन्त्रणका लागी प्रहरी अहोरात्र खटीरहेको छ । लागुऔषध कारोबार गर्नेदेखि प्रयोग गर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्दै कारबाही गरिरहेको छ ।
प्रहरीले सञ्चालन गरेको लागुऔषध कारोवार नियन्त्रण अभियान अन्तरगत शैल्यशिखरबाटै प्रहरीले गत भाद्र २६ देखी हालसम्म ४ जना लागुऔषधका कारोवारी पक्राउ परिसकेका छन् ।
इलाका प्रहरी गोकुलेश्वरको जिम्मेवारी सम्हालेको दुई महिना नबित्दै प्रहरी निरीक्षक ऐरीले शैल्यशिखरबाटै १२ किलो ९ सय ५० ग्राम चरेससहित ४ जनालाई पक्राउ गरिसकेका छन् । उनले गत भाद्र ११ मा इप्रका गोकुलेश्वरको जिम्मेवारी सम्हालेका थिए ।
गोकुलेश्वर प्रहरीले लागुऔषध विरुद्धको महाअभियान—२०८० सञ्चालन गरेर शैल्यशिखर नगरपालिका भित्र रहेका सबै विद्यालय,क्याम्पस लगायत टोल टोलमा लागु ‘औषध दुव्र्यसनी तथा न्युनीकरण सम्बन्धि’ जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।
लागुऔषध सेवन र ओसारपसार नियन्त्रणमा दार्चुला प्रहरी सक्रिय रुपमा खटिएको छ ।



