गोकुलेश्वर । सर्लाहीमा पुल मुनी टाउको फेला परेका युवकको शरीर दुई दिनपछि झन्डै ७ किलोमिटर टाढा कालिन्जोरको जंगलमा फेला परेको छ ।
भारतको सीतामढी जिल्ला मनियारीका २३ वर्षीय गोलु भनिने अभिषेख राजको टाउको बिहीबार बिहान हरिवन–४ स्थित लखन्देही पुलमुनि भेटिएको थियो ।

उनको शरीर शनिबार साँझ पूर्व–पश्चिम राजमार्गबाट करिब २५ मिटर दक्षिण लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर जंगलमा फेला परेको हो । टाउको र शरीर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार गोलु साउन २० गते आफ्ना ४ जना साथीसँग नेपाल आएका थिए । गोलुसँग आएका चारै जना युवक अहिले फरार छन् । गोलीको हत्या तीनै चार जनाले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
पाँचैजना भारतको ग्याङस्टा रहेको खुलेको छ । हत्या भएका युवकसहित उनीसँगै आएका चार जनामाथि भारतमा हत्या लगायतका अभियोग दर्ता रहेको सर्लाही प्रहरीका एसपी नरेशराज सुवेदीले बताए ।
हत्या भएका गोलु पनि केही दिनअघि भारतमा एक व्यक्तिलाई गोली हानेर फरारको सूचीमा रहेको पाईएको छ ।



