गोकुलेश्वर। भाई बुहारीको हत्या गरेर फरार भएको भनिएका सल्यानको शारदा नगरपालिका– १४ ढारखानीका ५४ वर्षिय वीरबहादुर गिरी मृत भेटिएका छन् ।
गिरीको शव घरभन्दा ४ किलोमिटर टाढाको खाली घरमा झुन्डिएको अवस्थामा फेला परेको हो । घाँस काट्न गएका स्थानीयले घरको बार्दलीमा झुन्डिएको अवस्थामा अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साउन २१ गतेदेखि सम्पर्क विहिन भएको गिरीको शव भेटिएको घर उनकै दाजुको रहेको र उनीहरू हाल तुलसीपुरमा बस्दै आएको प्रहरीले जनाएको छ ।
वीरवहादुरले गत आइतबार बिहान ४६ वर्षीया प्रमिला गिरीको हत्या गरेको आरोप छ । घर नजिकै धारिलो हतियारले घाँटी काटेको अवस्थामा प्रमिला मृत फेला परेकी थिइन् ।
यसअघि पनि वीरबहादुरले प्रमिलामाथि खुर्पा प्रहार गरेका थिए । कर्तव्य ज्यान उद्योगअन्तर्गत बुहारीले किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका थिए भने डेढ वर्ष पूर्पक्षका लागि कारागारमा बसेपछि ६ महिना पहिला मात्रै डेढ लाख धरौटीमा छुटेको थिए ।
हत्या भएको दिन घाँस काट्न भनेर गएकी श्रीमती घर आउन ढिला गरेपछि खोज्न गएका श्रीमानले हत्या गरिएको अबस्थामा फेला पारेका थिए ।



