गोकुलेश्वर।अविरल वर्षाका कारण भासिएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग दोस्रो दिन पनि खुल्न सकेको छैन् ।
राजमार्ग अन्तरगत पर्ने कैलालीको गोदावरी नगरपालिका—४ को बुढितोलामा आएको पहिरोसँगै झण्डै दुई सय मिटर सडक भासिएको छ ।

पहिरो पन्छाउने काम भइरहे पनि थप पहिरो खसिरहेकाले कठिनाइ भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार आज बेलुकासम्म एकतर्फी भए पनि सडक खुलाउने प्रयास जारी छ । वर्षा र पहिरो खस्ने क्रम नरोकिएमा भने सडक सञ्चालनमा आउने सम्भावना कम भएको उनको भनाइ छ ।
पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।



