गोकुलेश्वर । डडेल्धुराको अमरगढी नगरपालिकाले सडकछेउमै फोहोर फाल्ने गरेको भन्दै वडा नम्बर–१, मालमका स्थानीयबासीले विरोध जनाएका छन् । आइतबार ज्ञापनपत्रमार्फत नगरपालिकाको ध्यानाकर्षण गराए पनि नगरप्रमुख डिल्लीराज जोशीले कुनै चासो नदेखाएको भन्दै सोमबार उनीहरू विरोध प्रदर्शनमै उत्रिएका हुन् ।
‘डिल्ली तेरो पाराले दुःख पायो साराले,’ ’गफाडी मेयर चाहिँदैन,’ लगायतका नारा लगाउँदै स्थानीयले बसपार्कबाट जुलुस निकालेका छन् । उनीहरूले नाराबाजी गर्दै नगरपालिका घेराउसमेत गरेका छन् । नगरपालिकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । तर, नगरप्रमुख जोशीले अहिलेसम्म वार्ता गर्ने प्रयास गरेका छैनन् ।

यद्यपि, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले भने प्रदर्शनकारीसँग कुरा गर्ने प्रयास गरिरहेका छन् । फोहोर व्यवस्थापनमा विगतदेखि नै चुक्दै आएको अमरगढी नगरपालिकाले अहिले पिकनिक स्पोटनजिकै डम्पिङ साइट बनाएको छ । सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडकछेउमै फोहोर थुपार्न लागेको एक वर्ष पुग्न थालेको छ ।
गत पुसदेखि उक्त क्षेत्रमा सदरमुकामको फोहोर थुपारेको नगरपालिकाले सुरुमा केही महिनामै अर्को डम्पिङ साइट बनाउने भनेको थियो । तर, हालसम्म पनि जग्गा नपाएको कारण देखाउँदै नगरपालिकाले उक्त क्षेत्रमा फोहोर फाल्दै आएको छ । जसका कारण सो क्षेत्रमा मनोरञ्जन लिन पिकनिक खान जानेलाई असर परिरहेको छ । त्यतिमात्रै हैन, सोही सडक भएर वडा नम्बर १ बस्ने मालमबासीले पनि नाक थुनेर हिँड्नुपर्ने बाध्यता आइलागेको छ ।
सोही समस्या सतहमा आउँदा मालम गाउँबासी विरोधमा उत्रिएका छन् । यसअघि आइतबार २१२ स्थानीयको हस्ताक्षरसहित नगरपालिकालाई ज्ञापनपत्र बुझाइएको थियो । स्थानीयले ७ दिने अल्टिमेटमसहित संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका थिए ।



