गोकुलेश्वर । श्रम स्वीकृति लिएर एक वर्षभन्दा बढी वैदेशिक रोजगारीमा काम गरेर फर्किने श्रमिकले ल्याउने एउटा टेलिभिजनमा भन्सार छुट पाउने भएका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले झिटीगुन्टा सुविधा अन्तरगत पाउने भन्सार छुटलाई प्रस्ट बनाउँदै सामाजिक सुरक्षा कोषमा आवद्ध वैदेशिक रोजगारीमा रहेका श्रमिकले जुनसुकै साइज र मूल्यका एउटा टेलिभिजनमा छुट पाउने बताएको छ ।

‘श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेका र सामाजिक सुरक्षा कोषमा समेत सूचीकृत भएका श्रमिकले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार छुट पाउनेछन्,’ विमानस्थल भन्सार कार्यालयको सूचनामा भनिएको छ
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेको तर सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका श्रमिकले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन सकने सूचनामा उल्लेख छ । यस बाहेकको अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको भन्सार महसुल भन्सार कार्यालयमा तिनुपर्ने छ ।
यस्तै विदेशबाट नेपाल फकर्ने महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार नलाग्ने सूचनामा उल्लेख छ । २०० ग्रामसम्मको सुनको गहनामा भने विमानस्थलको भन्सार विन्दुमा भन्सार तिरेर ल्याउन सक्ने उल्लेख छ । गहनाको आकार मात्रै दिएर बनाएको बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नभएका सुनलाई गहनाको मान्यता नहुेन समेत कार्यालयले बताएको छ ।



