गोकुलेश्वर । विमानस्थलबाट भइरहेको सुन तस्करीमा माओवादी नेताहरुको कनेक्शन देखिएको छ । इसिगरेटभित्र लुकाएर ल्याइएको सुन तस्करीमा महरा बाबुछोराको संलग्नता देखिएकोमा अहिले क्वीन्टल सुन तस्करीमा संलग्न गिरोहसँग पुनदम्पती र पूर्वउपराष्ट्रपति पुनको कनेक्शन देखिएको हो ।
काठमाडौं, साउन १४ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट सुन तस्करी गर्दै आएको गिरोहसँग सत्तारुढ नेकपा माओवादी केन्द्रकै नेताहरुको घनिष्ठता र संलग्नता रहेको तथ्य खुलेको छ । क्वीन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानबाट चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ पक्राउ परेसँगै माओवादी नेताहरुको संलग्नता खुलेको हो ।

राजस्व अनुसन्धान विभागले करीब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा आज दावालाई पक्राउ गरेको हो । राजस्व अनुसन्धान विभागले ठमेलबाट आज चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेसँगै सुन तस्करी प्रकरणमा माओवादीका नेताहरुको ‘कनेक्सन’ देखिएको हो ।
यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवै च्यानल क्रस भएर सिनामंगलस्थित सडकमा समातिएको करीब एक क्विन्टल सुनको छानविनमा आज ठूलो माछा फेला परेको हो । ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने मतियार हुन । दावा माओवादी नेताहरुकै संरक्षणमा नेपालमा बसेर लामो समयदेखि अबैध धन्दा चलाउँदै आएका ब्यक्ति समेत हुन ।
आज पक्राउ परेको दावाको नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन, उहाँकी पत्नी पूर्वसभामुख ओनसरी घर्ती मगर र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग निकै घनिष्ट सम्बन्ध रहेको पाइएको छ । उहाँहरुकै आडमा दावाले नेपालमा अबैध धन्दा चलाएको र पछिल्लो समय सुन तस्करीमा लागेको अनुसन्धानमा सहभागी एक अधिकारीले जनताटाइम्स डटकमलाई बताए । उनका अनुसार यसअघि पनि थुप्रै अपराधमा संलग्न भएका दावालाई राजनीतिक संरक्षणकै कारण जोगाउने काम भएको छ ।
क्वीन्टल सुन बरामद गर्नुअघि नै माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उहाँका छोरा राहुल महराको संलग्नता देखिएको थियो । इसिगरेटभित्र लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा महरा बाबुछोराको संलग्नता देखिए पछि प्रहरीलाई बयानसमेत नलिन निर्देशन दिएर जोगाउने काम भएको थियो ।



