No.1 News Portal from Sudurpashchim Province
bajaj

क्विन्टल सुन बरामद प्रकरण : भन्सारका प्रहरी कता हराए ? किन छैन प्रहरीको उपस्थिति ?

गोकुलेश्वर । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको कम्तीमा एक सय किलो सुन २ साउनमा बरामद ग¥यो ।

pm office

विभागका अनुसार, हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमा ३० असारमा १६० सेट ‘ब्रेक शु’ आएको थियो । भन्सार जाँच पार गरेर ३ साउनमा दिउँसो २ बजे बाहिरिएको ‘ब्रेक शु’भित्र सुन भएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले सामान बोकेको ट्याक्सीलाई नियन्त्रणमा लियो ।

सो ट्याक्सीबाट बरामद भएको सामग्रीमा एक क्वीन्टल सुन फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख नारद गौतमका अनुसार, भन्सार जाँचका क्रममा एक्सरेमा ‘फलामको कालो डल्लो’ देखिएको थियो । शंका लागेपछि एक जना उपसचिवले ‘मोेटर पार्ट्स’ भनेर भित्रिएको सामग्रीको पोका खोलेर समेत हेरेका थिए ।

तर गौतमका अनुसार, सुन जस्तो नलागेपछि त्यो सामान बाहिरिएको थियो । विशेष सूचनाको आधारमा खटिएको विभागको टोली भन्सार गेटबाहिर बा २ ज २३२४ नम्बरको ट्याक्सी र चालक अशोक लामालाई कुरेर बसेको थियो । त्यसक्रममा विभागले सुनसहितको सामग्री बरामद गरेको थियो ।

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर अवैध सामग्री बाहिरिएको यो पहिलो पटक होइन । ५ भदौ २०७६ मा पनि कतार एयरवेजको उडानमार्फत आएका आईभेरिकोष्टका नागरिक मार्केल गुलीले करिब ५ करोड मूल्य पर्ने कोकिन विमानस्थल भन्सारको ‘एक्स–रे’ जाँचबाट सहजै पास गराएका थिए ।

निलो रंगको सुटकेशभित्र प्लाइहुड राखेर कागजको पालामा राखेको अवस्थामा रहेको एक किलो ६ सय ग्राम कोकिन नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले विमानस्थल बाहिरबाट बरामद गरेको थियो ।

अहिलेको सुन प्रकरणमा जस्तै त्यसबेला पनि भन्सार जाँचमा संलग्न कर्मचारीले शंकास्पद लागेर पुनः जाँच गरे पनि अवैध सामग्री नखुलेको भन्दै फेरि पठाइदिएको खुलेको थियो । त्यसबेला पनि प्रहरी अधिकृतहरुले भन्सारमा प्रहरीको उपस्थिति गराउनुपर्ने भन्दै लबिइङ गरेका थिए ।

यसपटक एक क्वीन्टल सुन बरामद हुँदा यसको पृष्ठभूमिले कुनै न कुनै रुपमा त्यो आशंकालाई बल पु¥याएको छ । किनकि, अहिले सुन भित्र्याएको रेडी ट्रेड प्रा.लि.ले यसअघि २८ पटक हङकङबाट सामान ल्याइसकेको खुलेको छ
अहिले सुन प्रकरणपछि फेरि विमानस्थल भन्सारमा प्रहरी राख्नुपर्ने माग उठिरहेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले केहीअघि निवासमा पत्रकारहरुसँग कुरा गर्दै भन्सारमा प्रहरीको उपस्थिति बढाउनेबारे कुराकानी भइरहेको बताएका थिए ।

सुन प्रकरण सार्वजनिक भएपछि ५ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पनि गृहमन्त्री श्रेष्ठले आगमन पछाडि प्रहरीको कुनै भूमिका नहुने बताए ।

‘भन्सार जाँच मात्र होइन, आगमन पछाडि नै प्रहरीको कुनै भूमिका हुँदैन, त्यसमा प्रहरीको भूमिका हुने गरी व्यवस्थापन हुुनु उचित हुन्छ भन्ने धेरै अघिदेखि नै प्रस्ताव राखेका थियौं’, गृहमन्त्री श्रेष्ठले भनेका छन्, ‘अहिले एकअर्का निकायलाई दोष लगाउने बेला होइन, कामहरुलाई अझ प्रभावकारी ढंगले गर्न के गर्नुपर्छ भन्नेमा गम्भीरतापूर्वक अगाडि बढाउँछौं ।’

गृहमन्त्री श्रेष्ठले यस विषयमा अर्थ मन्त्रालयसँग कुरा भइरहेको बताए । पटकपटक यो प्रस्ताव जाने गरे पनि निर्णय हुने गरेको छैन । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहका अनुसार, सुन मात्र नभइ लागूऔषध, हातहतियार लगायत अवैध सामग्री पनि विमानस्थलबाट पास हुनसक्ने भएकाले ‘क्रस चेक’का लागि पनि अर्को संयन्त्र भन्सारमा तैनाथ हुनु जरुरी हुन्छ ।

‘मेरो पालामा पनि भन्सारमा प्रहरी राख्नुपर्छ भनेर प्रयास गरेका थियौं, तर उहाँहरुले अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनकै नियम सुरक्षा जाँच भनेको जुन होस्ट कन्ट्री उसको जिम्मा भएको तर्क गर्नुहुन्छ’, सिंहले अनलाइनखबरसँग भने, ‘जस्तै, दुबई वा हङकङबाट आएको सामान छ भने सुरक्षा जाँचको जिम्मा त्यहीँको निकायको हो भन्ने उहाँहरुको तर्क हुन्छ ।’

भन्सार र अर्थ मन्त्रालयका अधिकारीहरुले अन्तर्राष्ट्रिय अभ्यास नै त्यही भएको तर्क गर्दै प्रहरीलाई प्रवेश गर्न नदिए पनि यसको भित्री मनसाय अरु नै भएको जानकारहरु बताउँछन् । ‘एउटा मात्र निकाय हुँदा त्यहाँ हालीमुहाली हुने भयो, दुई निकाय हुँदा त्यसले निरन्तरता पाउँदैन भन्ने हुनसक्छ’, एक अधिकारी भन्छन्, ‘नभए त्यहाँ प्रहरी बस्दा भन्सारलाई उसकै काममा सहज हुने हो ।’

नेपाल प्रहरीका पूर्वप्रहरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालका अनुसार, विमानस्थल भन्सारमा प्रहरी तैथान राख्नेवित्तिकै सबै अवैध सामग्री रोकिन्छ नै भन्ने होइन । तर, एउटा निकायबाट छुटेका कुरा अर्को निकायको नजरमा पर्ने उनी बताउँछन् ।

‘त्यसमाथि कतिपय कुरामा प्रहरीको विज्ञताका कारण पनि पत्ता लगाउन सहज हुन्छ’, पाल भन्छन्, ‘यस्तो विषयमा अन्तर निकायबीच प्रतिस्पर्धा वा भाग खोस्न आएको जसरी सोच्नु भन्दा पनि समग्रमा सबैले एउटै उद्देश्यका लागि काम गरेको हो भन्ने सोच राखेर समन्वय गर्नु जरुरी हुन्छ ।’

छिमेकी मुलुक भारतमा विमानस्थल सुरक्षाका लागि सेन्ट्रल इण्डियन सेक्युरिटी फोर्स (सीआईएसएफ) खटिन्छ । भन्सारका अधिकारीहरुले अन्य मुलुकका विमानस्थलमा प्रहरी नहुने जिकिर गर्दै आएका छन् ।

सबै जाँच पार गरेर यति ठूलो परिमाणमा सुन बाहिरिनुले मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा पनि प्रश्न खडा गर्ने जानकारहरु बताउँछन् । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देविराम शर्मा भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट यसरी क्वीन्टलमा सुन भित्रिनुले हाम्रो विमानस्थलको सुरक्षामा अन्तर्राष्ट्रियस्तरमा प्रश्न उठाउँछ, यसप्रति नेपाल गम्भीर छ भनेर देखाउन पनि सुरक्षामा कुनै कमजोरी नरहने गरी तयारी गरिहाल्नुपर्ने अवस्था छ

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.