गोकुलेश्वर । सप्तरीमा जग्गा सम्वन्धी विवादका कारण एउटा दलित परिवारै कुटिएको छ ।
शप्तकोशी नगरपालिका १ फत्तेपुरको खोरियाटोल घर भएका उनीहरुलाई वडा नं. ४ स्थित खेतमा रोपाई गर्न गएका वेला घेरा हालेर कुटपिट गरिएको हो ।
असार २८ गते खेतमा काम गरिरहेका वेला मंगल रामकी पत्नि ३९ वर्षिया मननदेवी राम, उनका देउरानीहरु ३६ वर्षिया सुनितादेवी राम, ३२ वर्षिया सरोदेवी राम र २८ वर्षिया आरती रामलाई निर्घात कुटपिट गरिएको हो ।
सप्तकोशी–४ वलार्दहका देबानन्द चौधरी, लक्ष्मीदेवी चौधरी, रमेश चौधरी, सिर्जना चौधरी, बविता चौधरी र बबिताका देवरलगायतको समुहले दलित महिलाहरुलाई घेरा हालेर कुटपिट गरेको हो । कुटपिटका कारण गम्भिर घाईते भएका उनीहरुको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भएको छ ।
जसमध्ये आरतीको अवस्था अहिले पनि चिन्ताजनक छ। अस्पतालले डिस्चार्ज दिएर फर्केकी उनी अहिले पनि वेला वेलामा आफै वेहोस भएर लड्ने गरेको मंगल रामले वताए ।

ट्याक्टर चालक रहेका मंगलका अनुसार उनी श्रीमतीसहितका महिलाहरुलाई धान रोप्न छोडेर ट्याक्टर लिई अर्काको खेतमा जोत्न गएका थिए। श्रीमतीसहित परिवारलाई नै कुटपिट गरिएको खवर पाएपछि घट्नास्थलमा आएर छुट्याउँदा उनलाई पनि कुटपिट गरिएको छ ।
चौधरीहरुले विगत २/३ वर्षदेखि नै जग्गाको विषयमा विवाद गर्दै आएका थिए । अमिन ल्याएर आ–आफनो जग्गा छुट्याउन आफुले प्रश्ताव गर्दा उनीहरुले अस्विकार गर्दै आएको र ‘तिमीहरुले कमाएको जग्गा हाम्रो हो’ भन्दै पटक पटक धम्की दिदै आएको उनले वताएका छन् ।
पछिल्लो पटक पुरुषहरु कोही नभएका बेला महिलाहरुलाई घेरा हालेर बाँस र भाटाले ज्यान मार्ने उदेश्यले कुटपिट गरेको मंगलको गुनासो छ । ‘म पुग्दा कान्छि वुहारीलाई पुर्न कोही खाल्टो खन्दै गरेका र कोही कपालमा समातेर घिस्याउँदै गरेका थिए’ मंगलले भने–‘म छुट्याउन गएँ, मलाई पनि कुटे।’
उपचार गराएर फर्केपछि प्रहरीले पीडकलाई कारवाही गर्ने कुरामा वास्ता नगरेको भन्दै उनले न्याय माग गरेका छन् । राजनीतिक दबावमा दोशीलाई उम्काउन कतिपय ब्यक्तिहरुले मिल्न दबाव दिईरहेको उनले आरोप लगाए ।
‘हामीले कुटाई खाएका छौं, महिला केटाकेटी नभनीकन सवैलाई पुरुषहरु नै लागेर कुटपिट गरिएको छ । अहिले पीडककै पक्षमा लागेर मिल्न दवाव दिदा आफु अन्यायमा परेको जस्तो लागिरहेको छ’ मंगलले थपे– ‘उपचारमा मात्रै करिव ४ लाख रुपैयाँ खर्च भयो । अहिले सवै मिलेर १ लाख लिएर मिल्नु पर्छ भन्छन् । कसरी मिल्न तयार हुनु ।’
उता इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दिपक रायले पीडितले भने अनुसार नै रेडिमेट जवाफ दिए । उनले भने–‘पीडितले उजुरी दिएका छैनन्, उजुरी दिएपछि कारवाही गर्छौं ।’



