गोकुलेश्वर । गत असार २३ गते शनिबार प्रसारित कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’ को एक एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए ।

उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो ।
टेलिभिजनले आज बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ ।
बिहीबार जारी सूचनामा कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ । अभिनेता समेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटक–पटक विवादमा पर्दै आएको छ ।
यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।



