गोकुलेश्वर । नेपाली कांग्रेस बाराका सचिव महागढीमाई नगरपालिका–७ बेनौलीका ५० वर्षिय भैयाराम यादवलाई प्रहरी कार्यालयमै इन्स्पेक्टर रुपेश साहले रामधुलाई गरेको घट्ना सार्वजनिक भएको छ ।
डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेको आदेशमा इन्स्पेक्टर रुपेश साहलगायतले तीन साताअघि उनलाई प्रहरी कार्यालयमै भकुरेका हुन।
सचिव यादव सवारी दुर्घटनाका विषयमा पञ्चायती गर्न प्रहरी कार्यालय पुगेका थिए ।
सोही क्रममा इन्स्पेक्टरले आफुलाई कुटेको उनको भनाई छ । कुटपिटका कारण उनको बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा चोट लागेको छ । उनी उपचारका लागि वीरगन्ज १४ बहुअरीस्थित स्पर्श मल्टीस्पेस्लिटी अस्पतालमा भर्ना भएका छन् ।

कुटपिटपछि प्रहरीले उनलाई केही घण्टा नियन्त्रणमा समेत राखेको थियो। घट्ना साँझ करिव ७ बजे भएको हो । त्यस बेला एसपी होबिन्द्र बोगटी कार्यालय वाहिर रहेको पाईएको छ।
घटनामा संलग्न भएकालाई कारबाही माग गर्दै कांग्रेस र एकीकृत समाजवादीले बुधवार सिडिओ नवराज सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् ।
‘प्रहरी निरीक्षक साहले सबै नेता दलाल हुन भनेपछि मैले प्रतिवाद गर्न खोज्दा डीएसपी पाण्डेको आदेशमा कपाल तानेर लछारपछार गरे’ भैयारामले भनेका छन–‘घिसार्दै प्रहरी नियन्त्रण कक्षमा लगेर लात, बुट र हातले कुट्न थाले ।’
अपाच्य गाली गर्दै कुटपिट गरेपछि धेरैबेरसम्म नियन्त्रणमा राखेको र एसपी बोगटी कार्यालयमा आएपछि छाडेको उनले बताएका छन् ।
एसपी बोगटीले घटनाबारे सत्यतथ्य बुझेर विभागीय कारबाही गर्ने प्रतिबद्धता जनाएका छन ।
तीन साताअघि कलैया बघवन सडकमा पिकअप भ्यानले ठक्कर दिएपछि महागढीमाई नगरपालिका–७ बेनौली गाउँका २० बर्षीय सुनिल यादव घाइते भएका थिए । त्यहीं घटनाका पीडितलाई पीडकबाट उपचार खर्च भराउने विषयमा प्रहरीमा हुँदै गरेको छलफलमा आफु त्यहाँ पुगेको यादवले वताए ।



