गोकुलेश्वर। दार्चुलाको नौगाड गाउँपालिकाले वृक्षा रोपण अभियान सुरु गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को निति तथा कार्यक्रम अनुसार गाउँपालिका भित्र रहेका खाली जमिन,रोडको छेउछाउ,विभिन्न कार्यत्रलय परिसर र सामुदायिक वन क्षेत्र भित्र वृक्षा रोपण अभियान सुरु गरेको हो ।
वृक्षा रोपण अभियान नौगाड गाउँपालिका—६ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता राजेन्द्रसिंह बोहराको नेतृत्वमा साउन १ गते (सोमबार) देखि सुरु भएको हो । अभियान साउन ७ गते सम्म चल्ने गाउँपालिका प्रवक्ता राजेन्द्रसिंह बोहराले बताए ।
‘गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार गाउँपालिका रहेका खाली जमिन,रोडको छेउछाउ,विभिन्न कार्यत्रलय परिसर र सामुदायिक वन क्षेत्र भित्र वृक्षा रोपण गरिरहेका छौं ।’उनले भने, ‘निति तथा कार्यक्रम अनुसार स्वच्छ जीवन,स्वच्छ हावा पाउन र स्वच्छ वातावरणका लागि वन अर्थात् वृक्ष नै आवश्यक भएको हुँदा पालिका भित्रका खाली रहेका सबै ठाउँमा रोपण गरिरहेका छौं ।

वन जंगल फडानी र विनाशले दिनप्रति दिन भूक्षय, खडेरी, डुबान बाढी पहिरो जस्ता प्राकृतिक विपद् बढ्दै गएकाले यसबाट बच्ने एक मात्र विकल्प वन जंगलको संरक्षण र वृक्षा रोपण नै भएकोले हामीले यो अभियान सुरु गरेका हौं ।पालिकाका सबै वडामा साउन ७ गते सम्म अभियान चल्छ । अभियानमा सबैले सहयोग गरिरहेका छन् ।’
वृक्षा रोपण अभियानमा जनप्रतिनिधि,कर्मचारी तथा स्थानीयले सहभागि जनाइरहेका छन् ।
अहिले सम्म गाउँपालिका भरि दुई हजार बढी विरुवा रोपिएका छन् । यसै क्रममा बुधबार (आज) वडा नम्बर ६ को खेडा खेलमैदानको छेउछाउ र मौवा मेला सामुदायिक वन क्षेत्रमा वृक्षा रोपण गरिएको छ ।
नौगाडलाई हराभरा र स्वच्छ बनाउन वृक्षारोपण कार्यमा सबैलाई योगदान गर्न आग्रह गर्दै रोपिएका वृक्ष, विरुवाको संरक्षणको दायित्व पूरा गर्न पनि प्रवक्ता बोहाले सबैसँग अपिल गरे ।
जलवायु परिवर्तन र विश्वमा तापमान वृद्धिले सिर्जना गरिरहेका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न बोटविरूवा एवं जंगलको योगदान महत्वपूर्ण रहेको प्रवक्ता बोहराको भनाई छ ।



