गोकुलेश्वर।प्राविधिक शिक्षाको श्रेत्रमा उत्कृष्ट विद्यालयका रुपमा परिचित दार्चुलाको लेकम गाउँपालिका—५ स्थित लटिनाथ नमुना माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८०।०८१ का लागि प्राविधिक कार्यक्रमहरुमा नयाँ भर्ना खोलेको छ ।
प्राविधिक धारका ४ वटा कार्यक्रमका लागि विद्यार्थी भर्ना खोलेको हो । प्रि–डिप्लोमा इन प्लान्ट साइन्स, प्रि–डिप्लोमा इन भेटेरीनरी साइन्स, डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) र डिप्लोमा इन एग्रिकल्चर (भेटेरिनरी साइन्स) का लागि नयाँ विद्यार्थी भर्ना खालेको हो ।
विद्यालयले भर्ना खुलाइएका प्राविधिक धारका कार्यक्रमकाको शुल्क समेत निर्धारण गरि भर्ना खोलेको छ ।
प्रि–डिप्लोमा इन प्लान्ट साइन्सका लागि १५ हजार र प्रि–डिप्लोमा इन भेटेरीनरी साइन्सका लागि ३० हजार शुल्क निर्धारण गरेको छ ।
त्यस्तै, डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स)का लागि एक लाख २० हजार र डिप्लोमा इन एग्रिकल्चर (भेटेरिनरी साइन्स)का लागि एक लाख ४१ हजार शुल्क निर्धारण गरिएको विद्यालययले जनाएको छ ।
सिमित सिट भएकाले विद्यार्थीहरुलाई समयमै सिट सुरक्षित गर्न विद्यालयले आग्रह समते गरेको छ । यी कार्यक्रमहरको आवेदन फारम भर्ने अन्तिम मिति २०८० साउन १२ गते तोकिएको छ ।
आवेदन फारम शुल्क प्रि–डिप्लोमाको लागि ५ सय र डिप्लोको लागि १ हजार ५ सय तोकेको छ । प्रवेश परिक्षा यहि साउन २४ गतेका लागि तोकिएको विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार डिप्लोमाको प्रवेश परिक्षा २०८० साउन २४ गते बिहान ८ बजे र प्रि–डिप्लोको २०८० साउन २४ गते दिउँसो १ बजे हुने छ ।
विद्यालयमा छात्रबासको समेत उचित व्यवस्था छ । सम्पूर्ण पूर्वाधारहरुले सम्पन्न विद्यालयमा दक्ष विशेषज्ञहरुबाट प्रशिक्षण गराइन्छ ।
सञ्चारका सम्पूर्ण सुविधाहरु रहेको विद्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण तथा परामर्श सेवाको समेत व्यवस्था रहेको छ ।
वनपाखा, खोल्साखोल्सी र पाहाडी शृङ्खलाको काखमा भएको हुँदा प्राकृतिक मनोरम दृश्यसँगै खानपिनका लागि दूध र हरियो सागसब्जी ताजा पाइन्छ । राम्रो ग्रामीण परिवेश, आत्मीयता, आहार विहार तथा व्यवहारका कारण टाढाबाट पढ्न आएका छात्रछात्राले आफ्नै पनको महसुस गर्न पाएका प्राचार्य केशव बिष्टले बताए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)बाट सम्बन्धन प्राप्त सो विद्यालयमा मधेशी, दलित, आदिवासी र महिलाका लागि आरक्षण कोटा छ । प्राविधिक र व्यावसायिक विषयमा छोरीहरुको आकर्षण बढ्नुले आर्जनमा लैङ्गिक समानताको अवसर बढाउन सहयोग पुग्ने छ ।
मुलुककै एक गतिलो शैक्षिक गन्तव्य एवं प्राविधिक शिक्षाको केन्द्रमध्येको एक बन्नसकेको र अब यो ठाउँले मुलुकको मुहार फेर्ने जनशक्ति तयार गर्दैछ भन्ने कुराले आफूहरुमा खुशीको सञ्चार गराएको त्यहाँका बासिन्दा बताउँछन् ।
सो विद्यालय गत वर्ष कार्यसम्पादन मूल्यांकनको आधारमा ६० जिल्लाका ४ हजार ८ सय ६७ विद्यालयहरु मध्ये उत्कृष्ट दशौं नम्बरमा परेको विद्यालयका थियो । शिक्षा मन्त्रालय अन्तर्गतको गुणस्तर प्रशिक्षण केन्द्रले देशभरिका विद्यालयहरुको विभिन्न मापदण्डका आधारमा गरेको परिक्षणमा उत्कृष्ट १० नम्बरमा परेको थियो ।
करिब ११ सयबढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा सुदूरपश्चिमका सबै जिल्ला र अन्य थुप्रै जिल्लाबाट विधार्थी पढ्न आउने गरेका छन् ।




