भारतस्थित धौलीगङ्गा नदिको बाध खोलिदै, महाकाली नदि किनारका बासिन्दालाई सजग रहन दार्चुला प्रशासनको आग्रह
गोकुलेश्वर । भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजना बाँधका ढोकाहरु खोलिने भएका छन् ।
एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाईको कार्यका लागि बाँधका ढोकाहरु खोलिन लागिएको हो ।
परियोजनाले एक सूचना जारी गर्दै असार २६ गते मंगलबारका दिन विहान ५ बजेदेखी राती ८ बजेसम्मका लागि बाँधका ढोकाहरु खोलिने जनाउदै महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारमा रहेका बस्तीका नागरिकलाई सर्तकता अपनाउन आग्रह समेत गरिएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जारी गरेको सूचना संगै जिल्ला प्रशासन कार्यालयले पनि एक सूचना जारी गर्दै महाकाली नदी किनारका बस्तीहरुमा बसोबास गर्ने नागरिकलाई सजग रहन र उक्त समयमा नदी किनार छेउछाउमा नजान आग्रह गरेको छ ।
जिल्लाको ब्याँस गाउँपालिकाको वडा नं ५ धौलाकोट देखि लेकम गाउँपालिकाको लाली सम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरि आग्रह गरेको हो ।
दार्चुला देखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
दार्चुला र धारचुलाबाट करिब १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाएको बाँधबाट २ सय ८० मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।



