गोकुलेश्वर । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनको लागि भारतलाई खुला रूपमा आमन्त्रण गरेको आरोप लगाएको छ ।
राष्ट्रियसभाको बैठकमा बोल्दै एमाले सांसद भगवती न्यौपाने प्रधानमन्त्रीले देश र जनतालाई धेरै ढाँटेकाले अब जवाफ होइन राजीनामा आउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘उहाँले अहिले मात्रै होइन एमसीसीमा पनि त्यसरी नै ढाँट्नुभयो । अमेरिकालाई पास गर्छौ भनेर समय तोकेर पत्र पठाउनुभयो। यहाँ कार्यकर्तालाई उफार्नुभयो । उहाँ नाटक गर्न सिपालु हुनुहुन्छ। उहाँले राष्ट्रियताको विषयमा धावा बोल्नुभएको छ । भारतलाई सरकार बनाउनको लागि खुला रूपमा आमन्त्रण गर्नुभएको छ । केही समयअघि पनि उहाँले भारतको कम्फर्टेबल सरकार बनाउनको लागि सहयोग माग्नुभयो। उहाँले त्यस्ता गल्ती धेरै गर्नुभयो ।
उनले जनयुद्ध बेला भारतलाई पठाएको चिठीपछि सार्वजनिक भएको पनि स्मरण गरिन् । उनले अहिले भारत जाँदा पनि राष्ट्रघाती सहमति गरेर आएको आरोप लगाइन् ।
उनले भनिन्, ‘तपाई संसदमा आएर जवाफ दिन र प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक हुनुहुन्न । उहाँ नाटक गर्न धेरै सिपालु हुनुन्छ । त्यसैले हामी हाम्रो मागबाट पछि हट्दैनौं ।



