
गोकुलेश्वर। बैतडीको दशरथचन्द नगरपालिका – १ मुस्याचोरमा कोल्ड स्टोर भवन निर्माण कार्य शुरु भएको छ । तरकारी तथा फलफूल भण्डारणका लागि कोल्ड स्टोर भवन निर्माण कार्य शुरु गरिएको हो ।
१०-१० टन क्षमताका दुईओटा कोल्डस्टोर भवन निर्माण गरिनेछन् । कोल्डस्टोर भवन निर्माणका लागि बिग बि एण्ड कम्पनीले कृषि विकास निर्देशनालय दिपायलसंग सम्झौता गरेर काम अघि बढाएको छ । ४६ लाख ३५ हजारको लागतमा कोल्डस्टोर भवन निर्माणको सम्झौता भएको निर्माण कम्पनीका प्रबन्धक विकास चन्दले बताए ।
उनले भने ‘हामीले सम्झौता अनुसार काम शुरु गरिसकेका छौं । लकडाउनका कारण काम शुरु गर्न केही ढिलाई भयो । तर पनि हामी समयमै सम्पन्न गर्ने योजनामा छौं ।’ चालु आर्थिक बर्षमै सक्ने लक्ष्यका साथ काम शुरु गरिएको पनि चन्दले बताए ।
मुस्याचोरमा कोल्डस्टोर निर्माण भएपछि किसानहरुलाई आफ्ना उत्पादन भण्डारणमा सहज हुनेछ । १० टन आलु र १० टन फलफूल भण्डार गर्न सकिने क्षमताको कोल्ड स्टोर निर्माण भईरहेको बताइएको छ । यसले किसानहरुलाई आफ्ना उत्पादनमा सहजै भण्डारणमा सहयोग पुग्ने दशरथचन्द नगरपालिका -१ का वडा अध्यक्ष भुवनराज भट्टले बताए ।



