गोकुलेश्वर।आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ ।
साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।

जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।
टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २ सय ४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।
२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । यूएईविरुद्ध आजको खेलमा शृंखलामा पहिलो खेल खेलिरहेका ललित राजवंशीको नेतृत्वमा नेपाली बलरले शानदार प्रदर्शन गरे । राजवंशीले ७।५ ओभरमा २ मेडन राख्दै ५ विकेट लिए ।
सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले किफायती बलिङ गर्दै ५ ओभरमा ३ मेडन राख्दै जम्मा ६ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान १ विकेट लिए ।



