गोकुलेश्वर। राष्ट्रपतिको साझा उम्मेदवार चयनका लागि आज सक्रिय राजनीतिक दलका शीर्ष नेताहरुको निर्णायक वार्ता हुँदैछ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्नेछन् । त्यसअघि नेपाली कांग्रेससँग पनि वार्ताको तयारी छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले आज बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको बताए।
हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको हो । आजको बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिने नेताहरु बताउँछन् ।
कांग्रेससहितको बैठक राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा केन्द्रित हुने स्रोतले बताएको छ । २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।



