गोकुलेश्वर । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले तयार पारेको कार्यसम्पादन सूचक मूल्यांकनमा दार्चुलाका ९ ओटा स्थानीय तहमध्ये महाकाली नगरपालिका अग्रस्थानमा देखिएको छ । १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा महाकाली नगरपालिका अग्रस्थानमा देखिएको हो । स्थानीय तहको हकमा समयमा बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत सूचकलाई मूल्यांकनको आधार मानिएको छ ।

यस्तै स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या, पूर्ण खोप पाएका बालबालिकाहरुको संख्या, चार पटक गर्भजाँच गराएको महिलाको संख्या लगायतलाई पनि सूचकमा राखिएको छ । कार्यसम्पादन सूचक मूल्यांकनमा महाकाली नगरपालिकाले ७२.८ अंक प्राप्त गरेको छ । पुछारमा रहेको शैल्यशिखर नगरपालिकाले ४६.८१ अंक प्राप्त गरेको छ । नौगाड गाउँपालिका ६७.०७, मालिकार्जुन गाउँपालिकाले ६४.३९, दुहुँ गाउँपालिकाले ५९.८१ र लेकम गाउँपालिकाले ५६.९५ अंक प्राप्त गरेको छ ।
यस्तै अपिहिमालल गाउँपालिकाले ५३.२, मार्मा गाउँपालिकाले ४९.८१ र व्याँस गाउँपालिकाले ४६.८१ अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले प्रकाशन गरेको कार्यसम्पादन मुल्याङ्कनमा उल्लेख गरिएको छ ।



