गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
शुक्रबार (आज) शैल्यशिखर नगरपालिकाको आयोजनामा वडा नम्बर ९ गोकुलेश्वर माविको खेलमैदानमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता २२ गते सम्म सञ्चालन हुनेछ ।
शैल्यशिखर नगर खेलकुद विकास समितिका अध्यक्ष महेश भण्डारीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख विजयसिंह धामीले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख धामीले नगरपालिकास्तरिय खेलकुद प्रतियोगिता खेल क्षेत्रको जग भएको बताउँदै खेल क्षेत्रलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए । खेलकुदको क्षेत्रमार्फत देशलाई चिनाउन सकिने उनको भनाई थियो ।
प्रशासकिय अधिकृत सुरेन्द्र बिष्टले जीवनको अभिन्न अङ्गको रुपमा खेल क्षेत्र रहेको चर्चा गर्दै खेलकुदकै माध्यमबाट समाज,राष्ट्रलाई परिचित गराउन सकिने बताए ।
यस्तै उद्घाटन समापन कार्यक्रममा बोल्दै नगर खेलकुद विकाश समिति अध्यक्ष भण्डारीले खेलकुदले विद्यालय–विद्यालय बीच भातृत्व विस्तार हुने विश्वास व्यक्त गर्दै खेलकुदको विकाशले विद्यार्थीहरुमा सकारात्म परिवर्तन हुने बताए । शिक्षा संगै खेलको समेत विशेष महत्व हुने भएकाले यी दुवैलाई जोडर लैजानुपर्ने उनको भनाई छ ।

बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउँदै उनले भने, ‘खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा मात्रै नभई विद्यालय विद्यालय बीचको भातृत्व समेत विस्तार हुने भएकाले बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुन्छन् ।’
शैल्यशिखर नगरपालिकामा खेलकुदको सम्भावना भएको हुँदा खेलकुदको माध्यमबाट नगरपालिकालाई चिनाउने अध्यक्ष भण्डारी भनाई छ । खेलकुद राष्ट्रको गहना भएकाले नगरको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै नगरका नौं वटै वडामा वडा खेलकुद विकास समिति गठन गर्ने नगर खेलकुद विकास समिति अध्यक्ष भण्डारीले बताए ।
प्रतियोगितामा एथलेटिक्स,भलिवल, कपड्डी, मार्सल आर्ट अन्र्तगत तेक्वान्दो र कराँतेका खेलहरु हुनेछन् । एथलेटिक्समा दौड,रिले दौड, र तीन हजार मिटरको दौड प्रतियोगिता हुने छन् । यस्तै फिल्ड तर्फ हाइजम्प, लङजम्प, सटपुट, ट्रिपल जम्प र ज्यावलिङ थ्रो का खेल समावेश गरिएका छन् ।
प्रतियोगितामा विजयी हुनेले रनिङ सिल्ड, ट्रफी र प्रमाणपत्र पाउने छन् । नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता खेल्ने अवसर पाउनेछन् । प्रतियोगितामा १३ वडा सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागि छन ।
उप–प्रमुख शान्ति खडायत, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बिष्ट, लगायतले स्वागत मन्तव्य राखेकोे कार्यक्रमको सञ्चालन नगरपालिकाका अधिकृत छैटौ भोजराज भट्ट, शिक्षकद्धय सन्तोष साउँद र भोजसिंह धामीले गरेका हुन् ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि ,सुरक्षाकर्मी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।




