गोकुलेश्वर। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले सहिद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै सहिद दिवस देश र जनताका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री रावलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै आजको दिनले हामीलाई सहिदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउने बताए ।

‘सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख उनले गरेका छन् ।’
उनले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्तरूप दिन आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आइएको छ ।




