गोकुलेश्वर केन्द्रमा राजनीतिक नयाँ समीकरण भएसँगै सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीका नेताहरू मुख्यमन्त्री बन्ने लाइनमा देखिएका हुन्। प्रदेश सभामा दोस्रो ठुलो दल बनेको नेकपा माओवादी केन्द्र र तेस्रो दल बनेको नेकपा एमालेका नेताहरूले मुख्यमन्त्रीमा आ–आफ्नै दाबी गरिरहेका छन्।

प्रदेश सभामा निर्वाचित माओवादीका ११ सासंदमध्ये धेरैले मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन्। प्रदेशमा नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरी २९ प्रदेश सभा सदस्य छन्। प्रदेश सरकारको आगामी नेतृत्व माओवादी वा एमाले कसले गर्ला भन्ने विषयमा चासो बढेको छ। गठबन्धनको शीर्ष तहमा हुने समझदारी र भागबण्डाका आधारमा आगामी नेतृत्वबारे अन्तिम टुंगो लाग्ने भए पनि दुवै दलका नेताहरुले मुख्यमन्त्रीका लागि आन्तरिक कसरत गरिरहेका हुन्।
एमालेबाट राजेन्द्रसिंह रावल, सन्तोष शर्मा थापा र धर्मराज पाठक तथा माओवादीबाट खगराज भट्ट र अक्कल रावल मुख्यमन्त्रीका दाबेदार रहेको दुबै पार्टीभित्र चर्चा छ।
माओवादीबाट सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीका दाबेदार छन्। गठबन्धन भएपनि प्रदेशमा एमालेभन्दा माओवादी ठुलो पार्टी भएकाले माओवादीले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको हो। एमालेले भने पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावललाई मुख्यमन्त्रीका लागि अघि सारेको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ। एमाले र माओवादी मात्र मिल्दा बहुमत पुग्दैन्। नागरिक उन्मुक्ति र राप्रपाले समर्थन गर्ने भएकाले नयाँ गठबन्धनको पक्षमा २९ जना प्रदेशसभा सदस्य हुनेछन्।



