काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा करवापत सरकारले संकलन गर्दै आइरहेको एक प्रतिशत कर कोषमा ल्याउने तयारी भइरहेको बताएका छन् ।

आइतबार सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा राज्यकोषमा रहेको एक प्रतिशत सामाजिक सुरक्षा करलाई सामाजिक सुरक्षा कोषमा ल्याउने गरी छलफल भएको बताए ।
कोषमा आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार लागिपरेको बताउँदै कुँवरले कोषको दायरा बढाउँदै कार्यविधिमा छुटेका वस्तुहरु समावेश गरी रोजगारी सिर्जना गरी सामाजिक सुरक्षा कोषसँग जोड्ने बताए ।
सामाजिक सुरक्षामा योगदान गरेको रकम उत्पादन क्षेत्रमा लगानी गर्दा आर्थिक विकासमा सहयोग पुग्ने उनको भनाइ छ । उनले नेपालमा सरकार अस्थिर भएको भन्दै अब स्थिर सरकार बनाउनु आवश्यक रहेको बताए ।



