गोकुलेश्वर । नेपाली काँग्रेस दार्चुलाले एकता, उत्साहसहित जीतमा रुपान्तरण कार्यक्रमलाई अभियानका रुपमा संचालन गरेको छ । बिहीवार देखि महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा अभियानको शुभारम्भ गरि कार्यक्रम अगाडि बढीरहेको छ । अगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘गाउँघर अभियान’ संचालन गरेको हो । नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाको निर्णय अनुसार अभियान थालनी गरिएको पार्टी सभापति ललित सिंह बोहराले जानकारी दिए । अभियानको महाकाली नगरपालिका–१ छापरी, दुहुँ गापा–३ ब्रह्मदेव र मालिकार्जुन गाउँपालिका–१ भर्तोलाबाट एकैपटक बिहिवार नै सुरु गरि संचालन भइरहेको उनले बताए ।

महाकाली नगरपालिकाको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश कार्यसमित सदस्य मदन गिरी, जिल्ला कार्य समिति सचिव पुलेन्द्र बहादुर कार्की, महाधिवेशन प्रतिनिधि चक्रसिह ह्याकी लगायतको टोली खटिएको छ । यस्तै दुहुँ गाउँपालिकामा महासमिति सदस्य गणेशराज भट्ट, प्रदेश कार्य समिति सदस्य करविर बहादुर कार्की, जिल्ला कार्य समिति सहसचिव राजु अवस्थी, प्रदेश क्षेत्र क कार्य समिति सदस्य जयदेब जोशी तथा मालिकार्जुन गाउँपालिकामा नेपाली काँग्रेस दार्चुलाका कोषाध्यक्ष हंसराज भट्ट, जेष्ठ राजनीतिज्ञ सभा केन्द्रीय सदस्य चन्द्र सिह सामन्त, महासमिति सदस्य सुना बोहरा, प्रदेश कार्य समिति सदस्य कमला सामन्त, प्रदेश क्षेत्र क कार्य समिति सचिव पुष्कर राज जोशी लगायतको टोलीले कार्यक्रममा रुपान्तरण, एकता र जीतका बारे अन्तरकृयात्मक प्रशिक्षण गरिरहनु भएको छ ।
गएको स्थानीय चुनावमा पार्टीभित्रकै अन्तरघातका कारण पराजय भोग्नुपरेको निस्कर्ष निकाल्दै आगामी चुनावमा एकताबद्ध भएर जाने निर्णय गरिएको छ ।



