गोकुलेश्वर । दार्चुला सहित सुदूरपश्चिममा एक साता मनाइने धार्मिक पर्व गौराको चहलपहल सुरु भएको छ । यतिखेर दार्चुलाको दोस्रो ठुलो बजार गोकुलेश्वरका पसलहरुमा गौराको लागी नयाँ लुगाकपडा किन्ने, सिलाउनेहरुको भिड लागेको देखिन्छ ।

दार्चुलाका बिभिन्न गाउँ तथा टोलहरुमा गौरा पर्वको उल्लास सुरु भएको जिल्लाको शैल्यशिखर नगरपालिका–५ का स्थानियबासी पुष्पा रावलले बताए । उनले भने, ‘गाउँमा गौराको चहलपहल निकै बढेको छ, परदेश गएकाहरु घर आउनेक्रम चलेको छ, अहिले सहर–बजारभन्दा पनि गाउँघरमा रौनक छ ।’

सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा मनाउन घर फर्किनेका कारण तराईबाट पहाड आउने गाडी समेत प्राय भरिभराउ देखिन थालेका छन् । बिशेष गरी सुदूरपश्चिम प्रदेशको साझा सांस्कृतिक पर्व भएका कारण पनि गौराको उत्साह र रौनक बेग्लै हुने गरेको स्थानिय जानकारहरु बताउछन् ।

गौरामा (५ प्रकारका अन्न मिसाएर बनाइने) बिरुडा स्थानीय पँधेरोमा गएर भिजाउने, अर्को दिन परम्परागत कुवा र नाउलामा गौरा पुज्ने र अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्याउने चलन छ ।
जिल्ला सदरमुकामसँगै गाउँगाउँमा गौरा महोत्सव हुने गर्दछन् । सामाजिक अनुशासन, धार्मिक अनुशासनसँगै पारिवारिक अनुशासनसँग पनि पर्वको महत्त्व जोडिएको पाईन्छ । बल, तील, गुभा, धान र साउँका बोटबाट बनाइने गौरा र शिवका रूपमा काठको प्रतिमा स्थापित गरी एक हप्तासम्म पूजा गर्ने परम्परा रहेको छ ।अविवाहित कन्याहरूले घर भित्र्याउने गौरा विर्सजन गर्दा विवाहित बुहारीले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँदै स्थानीय मठमन्दिरमा लैजान्छन् । मठमन्दिरमा धामी, पूजारीले गौरालाई विधिवत् विर्सजन गर्ने परम्परा रहेको छ । “विवाहित महिलाले आफ्नो घाँटीमा गौरादेवीको प्रसादका रूपमा उन र धागोले बनाइएको धागो एक वर्षसम्म बाँध्ने चलन छ । उक्त धागोलाई दुबेधागो भन्ने गरिन्छ । विवाहित महिलाले वर्ष दिनसम्म उक्त धागोको पूजा गरेर मात्रै खाना खाने चलन रहेको महाकाली नगरपालिकाकी स्थानिय गौमती कुँवरले बताइन्”।
सुदूरपश्चिममा ठाउँअनुसार गौरापर्वको अवसरमा स्थानीय तहहरूले डेउडा खेल प्रतियोगितासमेत आयोजना गर्ने गरेका छन् ।



