No.1 News Portal from Sudurpashchim Province
bajaj

मालिकार्जुन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच चर्काचर्कि, भ्रष्टाचार बढेको उपाध्यक्षको आरोप

दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच चर्काचर्कि सुरु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष हिरासिंह धामी र उपाध्यक्ष कल्यानसिंह धामीबिच गाउँपालिकाको काम कारबाहीका सन्दर्भमा दोहोरी चलेको हो ।

गाउँपालिका उपाध्यक्ष कल्यानसिंहले सुरुमा मालिकार्जुनको भूमिमा तानासाही सफल नहुने भन्दै सोमवार स्ट्याटस राखेका थिए । तत्पश्चात् उनले ‘स्वेच्छाचारीहरूविरुद्ध निरन्तर संघर्ष गर्ने’ भन्दै सामाजिक सञ्जालमा लेखे ।
उनले तारन्तार रूपमा गाउँपालिका अध्यक्षतर्फ संकेत गर्दै विभिन्न स्ट्याटस राखे । हिजै राखिएको उनको अर्को स्ट्याटसमा भनिएको छ, ‘विजय प्राप्त नहुन्जेलसम्म निरन्तर संघर्ष र भण्डाफोर अभियानमा सहभागी बनौँ, मालिकार्जुन गाउँपालिकालाई गलत प्रवृत्तिको हातबाट जोगाऊँ ।’ त्यस्तै, उनले मालिकार्जुन गाउँपालिकामा अत्याचार र भ्रष्टाचार दोब्बर भएको समेत उल्लेख गरेका छन् । आफ्नै स्ट्याटसमा कमेन्ट गर्दै उनले भनेका छन्, ‘मालिकार्जुन गाउँपालिकामा अत्याचार र भ्रष्टाचार दोब्बर भयो ।’

यस सम्बन्धमा बुझ्दा उनले मालिकार्जुन गाउँपालिकामा स्वेच्छाचारीता बढेको बताए । उनले भने, ‘बहुमत छ भन्दैमा गाउँपालिका अध्यक्षले स्वेच्छाचारी ढंगले काम गर्न खोजे, म पनि जनप्रतिनिधि हुँ, मसँग पनि परामर्श गर्नुपर्ने हो ।’ उनले लगातार रूपमा अध्यक्षसँगको असन्तुष्टि व्यक्त गरेपछि गाउँपालिका अध्यक्ष हीरासिंह धामीले प्रत्युत्तरमा आफूहरूले राम्रो काम गरिरहेको उल्लेख गर्दै परिणाम सही आउने बताएका छन् । उनले उपाध्यक्षलाई कसैको पुच्छर भएर काम गरिरहेको समेत आरोप लगाएका छन् ।

pm office

गाउँपालिका उपाध्यक्षले उठाएको कुरा करार कर्मचारीसँग सम्बन्धित रहेको जनाउँदै उनले लेखेका छन्, ‘हामी जे सोच्दछौँ, सही सोच्दछौँ , जे गर्दछौँ, सही गर्दछौँ, जे परिणाम आउँछ सही नै आउँछ । बस कसैको पुच्छर भएर धर्म निभाउनु स्वाभाविक नै छ । कुरा करार कर्मचारीसित सम्बन्धित छ । हामीले विधिसम्मत, प्रक्रियागत ढंगले, न्यायिक र लोकतान्त्रिक ढंगले बहुत संयमताका साथ सचेत अनि सजग भएर अघि बढ्ने र बढ्नु पर्छ भन्नेमा पूर्ण प्रतिबद्ध छौँ ।’
त्यस्तै, उनले उपाध्यक्ष धामीले लगाएका आरोपहरू निराधार रहेको बताए । भ्रष्टाचार भएकै हो त भन्ने मकालुखबरको प्रश्नमा उनले भने, ‘हामी आएको तीन महिना पनि भएको छैन, के–कसरी भ्रष्टाचार हुनसक्छ ?’

त्यस्तै, करार कर्मचारीकै विषयमा गाउँपालिका उपाध्यक्षको असन्तुष्टि रहेको हुनसक्ने उनको भनाइ थियो । चुनावमाको मुखमा भर्ना गरिएका कर्मचारी तथा कार्य सम्पादन मूल्याकंनमा अनुत्तीर्ण कर्मचारी हटाउने तयारीमा गाउँपालिका रहेको समेत उनले जानकारी दिए ।

‘हिजो चुनावको मुखैमा नयाँ कर्मचारी भर्ना गरिएको छ, बिना प्रक्रिया भर्ना भएका छन् । कहाँ कति कर्मचारी आवश्यक छ भन्ने कुराको अध्ययन नै नगरी कर्मचारी भर्ना गरिएका छन्’, उनले भने, ‘करार कर्मचारी पाल्नमै ३ करोड विकास बजेट खर्च हुने स्थिति छ । तल्लो तहमा भर्ना भएका कर्मचारीको बढुवा गरी माथिल्लो तहमा पु¥याइएको छ । हामी यो सबै कुरा नियमित गर्दैछौँ ।’

त्यस्तै, उनले करार कर्मचारीको व्यवस्थापनबारे करार कर्मचारी व्यवस्थापन कार्यविधि बनेको उल्लेख गर्दै त्यसैको आधारमा कर्मचारीको व्यवस्थापन गर्ने तयारीमा मालिकार्जुन गाउँपालिका रहेको जानकारी दिए ।

उता यससम्बन्धमा उपाध्यक्ष धामीलाई सोध्दा उनले भने, ‘मेरो असन्तुष्टि खासगरी करार कर्मचारी व्यवस्थापनमै हो । राजनीतिक आस्थाकै आधारमा गरिबका छोराछोरीमाथि अन्याय गरिदिन त भएन नि ।’ साभारः मकालु खबरबाट

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.